रत्ननगरका सुकुमबासीलाई अर्को महिना लालपूर्जा

March 12, 2024
- ADVERTISEMENT -

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासी समुदायले लालपूर्जा पाउने दिन नजिकिदै गएको छ । स्थानीय सरकारले दिएको निस्सा सिरानीमा हालेर सुतेका भूमिहीन दलीत, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुले लालपूर्जा वितरणको माग गर्दै रत्ननगरका मेयर प्रलाद सापकोटालाई पटक पटक दबाद दिँदै आएका थिए ।

निस्सा हातमा परेको एक बर्ष वितिसक्दा पनि लालपूर्जा नपाएपछि यहाँका सुकुमबासीहरुले मेयर सापकोटालाई लिखित तथा मौखिक रुपमा दबाद दिँदै आएका थिए । लालपूर्जाको आशमा बर्षौ विताएका सुकुमबासी समुदायको हातमा निस्सा परेपछि आशाको किरण पलाएको थियो । लालपूर्जा प्राप्तीको आशामा रहेका यहाँका सुकुमबासीहरुले अर्को महिना लालपूर्जा पाउने भएका छन् । भूमि आयोग चितवनले चैतको पहिलोसाताबाट रत्ननगरमा लालपूर्जा वितरण गर्ने गरी अन्तिम तयारी थालेको छ । रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ मा यहाँका २ हजार ४१ जना घरधुरीलाई निस्सा वितरण गरेको थियो । जसमा भूमिहिन दलीत ३६०, भूमिहिन सुकुमबासी १ हजार १२९ र अव्यवस्थित बसोबासी एक हजार ५० घरधुरी रहेका छन् । सो नगरपालिकामा निस्सा वितरण गरी १ हजार ७९७ घरधुरीको जग्गा नापिएको छ भने एक हजार ५७५ घरधुरीको सजमिन मुचुल्का समेत उठाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

सो नगरपालिकामा वडा नं १२ बाट औपचारिक रुपमा लालपूर्जा वितरणको काम सुरु गर्ने तयारी गरिएको छ । रत्ननगर नगरपालिकाले सो वडाका १९९ घरधुरीलाई लालपूर्जाको लागि भूमिआयोग चितवनमा सिफारिस गरेको थियो । स्थानीय सरकारले पठाएको घरधुरीको विबरण हेरी आयोगको जिल्ला कार्यालयले १६५ घरधुरीको नाम स्विकृत गरी लालपूर्जा निर्माणको काम सुरु गरिसकेको रत्ननगरका सेवा केन्द्र प्रमुख अर्जुन पंगेनीले जानकारी दिए । चैतको पहिलो साताबाट सुकुमबासीलाई लालपूर्जा वितरणको काम सुरु हुन्छ उनले भने काम सुरु भएपछि लगातार १६ वटै वडाका सुकुमबासीले लालपूर्जा पाउनेछन् । भूमि आयोगले लालपूर्जाको लागि निबेदन दिन छुटेकाहरुलाई मालपोत कार्यालयमा जग्गा दर्ता गराउन समय दिएको छ । लालपूर्जा दिनैपर्ने र पहिलो चरणमा छुट भएका घरधुरीलाई मालपोत कार्यालयमा जग्गा दर्ता गर्न सक्ने प्राबधानको गरिएको सेवा केन्द्र प्रमुख पंगेनीले बताए । भूमिहीन दलीत, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुले लालपूर्जा वितरणलाई प्रभावकारी बनाउन रत्ननगरमा सरोकारवाला बीच अन्तक्र्रिया गरिएको छ ।

लालपूर्जा वितरण र छुट जग्गादर्ता लगायतका विषयमा केन्द्रीत रहेर भूमि आयोगका प्रतिनिधि जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारीको बीचमा अन्तक्र्रिया गरिएको हो । कार्यक्रममा सहभागीहरुले लालपूर्जा वितरणको काम सुरु भएपछि नरोकिने गरी अन्तिम तयारी गर्न भूमि आयोग र स्थानीय सरकारलाई आग्रह गरेका छन् । नगर स्तरीय सहजीकरण समितिमा रहेका राजनीतिक दलका नगर स्तरीय प्रतिनिधिहरुले भूमि आयोगले लालपूर्जा वितरणमा ढिलाई गरेको भन्दै सुरु भएपछि नरोकिने गरी तयारी गर्न आग्रह गरेका हुन् । भूमि आयोग चितवनका अध्यक्ष बद्रि तिमिल्सिनाले जिल्लाका सुकुमबासीहरुलाई लालपूर्जा वितरणको लागि निरन्तर पहल कदमी गरिरहेको बताए । १० बर्ष एकै ठाउँमा बसेका सुकुमबासीलाई बसोबारकै आधारमा पुर्जा दिलाउन आफुले सरकारले पहल गरिरहेको उनको भनाई छ ।

उपमेयर यादब पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रममा नापी कार्यालय चितवनका प्रमुख सुवास भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मेयर सापकोटाले रत्ननगरमा लालपूर्जा वितरण सुरु भएपछि नरोकिने बताए । सुकुमबासीको लालपूर्जा पाउने सपना अर्को महिना पुरा हुने भन्दै उनले आफ्नो कार्यकालमा नगर भित्रका सबै सकुमबासीलाई पुर्जा वितरण गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस रत्ननगरका उपसभापति अपिल अधिकारी, एमालेका नगर इन्चार्ज प्रेमनाथ दुवाडी, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, रास्वपाका बाबुराम अर्याल, राप्रापाका हरिशरण भट्टराई, समाजबादीका नगर अध्यक्ष हरिकुमार श्रेष्ठ सहित जनप्रतिनिधि, वडा सचिव तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -