रत्ननगर । ११४ औं अन्तरराष्ट्रिय महिला दिबसको अबसरमा रत्ननगरमा महिला अधिकारी र उद्यमशिलता विकास सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गरिएको छ ।
उद्यमशिल महिला समूह रत्ननगरले आयोजना गरेको सो कार्यक्रम मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । कार्यक्रममा अधिकारकर्मी महिलाहरुले महिला अधिकारसंग महिलालाई आत्मनिर्भर बनाउन उद्यम विकास कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । महिलाहरुले महिलाहरुको आयआर्जनको लागि अर्थपूर्ण रुपमा लगानी गर्नुपर्ने बताए ।कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले महिलाहरुको अधिकार स्थापित भइसकेकोले आर्थिक विकासको लागि उद्यमशिलतासंग जोडिनु पर्ने बताए । घरको नेतृत्व गर्न सक्ने महिलाले समाजको नेतृत्व सजिलै गर्न सक्ने भन्दै उनले हिम्मतका साथ अगाडि बढ्ने बताए ।
महिलाहरुले समुहमा आबद्ध भएर काम गर्न चाहने ५० प्रतिशत अनुदान दिने बताए । हामी परिबर्तन गर्न आएका हौं, काम सुरु भएको छ उनले भने आयआर्जन मार्फत महिलाहरुको जीविकोपार्जनमा सघाउछौं । कार्यक्रममा अधिबक्ता फुलमाया रानाभाटले महिला अधिकार र कानुनी प्रावधानको बारेमा प्रशिक्षण दिएकी थिइन् । महिला सुरक्षा दवाव समूह चितवनकी अध्यक्ष महादेवी खतिवडाले महिलाहरुले अधिकार खोज्दा कर्तब्य विर्सन नहुने बताइन् । उद्यमशिल महिला समूह रत्ननगरकि अध्यक्ष गीता सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गोमा भण्डारी, मेलमिलाप केन्द्र रत्ननगरकी कोषाध्यक्ष अनिता अर्याल, कार्यपालिका सदस्य एशोधा तिमिल्सिना, अनेमसंघ रत्ननगरकी अध्यक्ष चन्द्रिका महत केसी लगायतले मन्तब्य राखेका थिए ।
उद्यमशिल महिला समूह रत्ननगरकि सचिव मीरा ढकालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता ढकालले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा एकसय बढी महिलाहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा एकता शिशु निकेतनमा आत्महत्या गरेकी शालिन पोखरेलको सम्झनामा दीप प्रजवलन गरिएको थियो ।