चितवन, ०३ चैत । विभागिय टोली सशस्त्र प्रहरी बल (एपिएफ) भण्डाराविरुद्ध फराकिलो जित हात पार्दै गैंडाकोट एफसी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज (शनिबार) सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा गैंडाकोटले एपिएफविरुद्ध गोलको वर्षा गर्यो । एकतर्फी खेलमा गैंडाकोट ० का विरुद्ध ७ गोलले विजयी भयो । एपिएफका लागि ग्लोरीले ह्याट्रिक गरे । राजेश पुन, दीपेश आले, विवश नेपाली र एन्जल महर्जनले एक-एक गोल गरे ।
खेलको पहिलो मिनेटमा नै एपिएफका गोलकिपर विशाल गुरुङको गल्तीमा ग्लोरीले गोल गर्दै गैंडाकोटलाई अग्रता दिलाए । लगत्तै पाचौं मिनेटमा ग्लोरीकै गोलमा गैंडाकोटले अग्रता दोब्बर बनायो । १७ औं मिनेटमा ग्लोरीले ह्याट्रिक गरे । जारी प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । पहिलो हाफको अतिरिक्त समयमा राजेशले गोल गरेपछि गैंडाकोटले ४-० को अग्रता लियो ।
दोस्रो हाफमा गैंडाकोटले तीन गोल थप्यो । दोस्रो हाफको आठौं मिनेटमा दीपेशले गैंडाकोटका लागि पाचौं गोल गरे । १९ औं मिनेटमा विवशले छैटौं गोल गरे । अतिरिक्त समयमा एन्जलले गोल गरेपछि गैंडाकोट ७-० ले विजयी भयो । ह्याट्रिक गरेका गैंडाकोटका ग्लोरी म्यान अफ दि म्याच भए ।
यससँँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । चैत ६ गते मंगलबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनलमा ६ गते मंगलबार सेन्ट्रल कलेज २८ बिगाले घैरुङ एफसीको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा चैत ७ गते बुधबार आबुखैरहनी गाउँपालिका र गैंडाकोट भिड्नेछन् ।
चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।