रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा सोमबार कृषिमा जीविकोपार्जन अबसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रम गरिएको छ । विपन्न समुदायका महिलाहरुले गरिरहेको तरकारी खेती र पशुपाललाई स्थानीय सरकारको सरोकारको विषयमा रुपमा स्थापित गर्न कार्यक्रम आयोजना गरिएको हो ।
युएएआइडीको आर्थिक सहयोगमा नेपाल दलीत महिला उत्थान संघ(एडवान) नेपालले सञ्चालन गरेको महिला अगुवाईमा आर्थिक अबसरको प्रर्बद्धन नामक परियोजना अन्तर्गगत विपन्न समुदायका महिलाहरुले गरेको तरकारी खेती र पशुपालनको विकासको लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा परियोजना अन्तर्गत समुहमा आबद्ध भएर तरकारी खेती र पशुपालन गरिरहेका महिलाहरुले स्थानीय सरकारले प्रदान गर्ने अनुदान रकमबाट बन्चित हुनुपरेको गुनासो गरेका थिए । अनुदान लिने प्रक्रिया असजिलो भएका कारण कृषि र पशुपालनमा स्थानीय सरकारले प्रदान गर्ने अनुदान लिन नसकेको उनीहरुको भनाई छ ।
एडवान नेपालले रत्ननगर वडा नं ११, १२, १३, १४, १५ र १६ का विपन्न्न समुदायका महिलाहरुलाई ११ वटा समुहमा आबद्ध गरी सशक्तिकरण र जिविकोपार्जनको काम गरिरहेको परियोजनाकी चितवन जिल्ला फिल्ड संयोजक कमला रानाले जानकारी दिइन् । रत्ननगरमा २३० जना महिलाहरुलाई समुहमा आबद्ध गरी उनीहरुको आर्थिक सवलीकरणका लागि तरकारी खेती र पशुपालनमा सहयोग गरिरहेको उनको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठकले रत्ननगर नगरपालिकाले कृषि र पशुपालनमा प्रयाप्त अनुदान दिँदै आएको भन्दै त्यसको सदुपयोग गर्न महिलाहरुलाई आग्रह गरे । एडवानकी अध्यक्ष विन्दु परियार थापाले विपन्न परिवारका महिलाहरुलाई सक्षम बनाउन सशक्तिकरण र आयआर्जनलाई संगसंगै अगाडि बढाएको बताइन् ।
भरतपुरका महिलाहरुले अपेक्षाकृत सफलता हात पार्दा रत्ननगरका महिलाहरुलाई मुलधारमा ल्याउन समस्या भएको उनले बताइन् । परियोजनामा आबद्ध भएर कृषि र पशुपालन गरिरहेका महिलाहरुलाई दीगोपनाको लागि स्थानीय सरकारसंग जोड्ने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको उनको भनाई छ । कार्यक्रममा परियोजना प्रबन्धक धनबहादुर मिजारले चितवन जिल्लामा परियोजनाले गरेका काम र उपलब्धीबारे प्रकास पारेका थिए । कार्यक्रममा वडा नं १५ का वडाध्यक्ष होमनाथ रानाभाट, वडा नं १५ का वडाध्यक्ष आशिक तामाङ, वडा नं १६ का वडाध्यक्ष हेमराज थापा, कार्यपालिका सदस्य चन्द्रकला पनेरु, एशोधा पौडेल लगायतले मन्तव्य राखेका थिए