रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिबार महिला अधिकार सम्बन्धी कानुनी सचेतना तथा प्रतिबद्धता कार्यक्रम गरिएको छ ।
नारी जागरण केन्द्र रत्ननगरले ११४औं अन्तराष्ट्रिय महिला दिबसको अबसरमा कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागी अधिकारकर्मी महिलाहरुले अधिकारसंगै महिलाहरुको जीविकोपार्जनको सुनिश्चितताको लागि पहल सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।
महिलाहरुलाई सबल बनाउन उद्यमशिलता विकास आवश्यक रहेको भन्दै उनीहरुले त्यसका लागि तीनै तहको सरकारसंग सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमकी प्रमुख अतिथि सेवा नेपालकी अध्यक्ष पार्वती न्यौपाने, रत्ननगरकी निर्वतमान उपमेयर विमला दुवाडीले महिलाहरुको अधिकारसंगै उद्यमशिलता विकासलाई जोड दिनुपर्ने बताए ।
संविधानले महिलाको अधिकार सुनिश्चित गरेको भन्दै उनीहरुले महिलाहरु अब उद्यमी बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा अधिबक्ता गोमा न्यौपानेले महिला अधिकार र कानुनी प्राबधानका बारेमा सहजीकरण गरेकी थिइन् । उद्घाटन कार्यक्रममा केन्द्रकी अध्यक्ष विमला सुवेदी खनालले नारी नागरण केन्द्रले विपन्न महिलाहरुको सशक्तिकरण र सीप विकासमा काम गर्दै आएको बताइन् ।
उनले विपन्न समुदायका छोरीहरुको उच्च शिक्षामा छात्राबृत्ती प्रदान गर्न कोष स्थापना गरिएको जानकारी दिइन् । कार्यक्रममा वडा नं ३ की वडा सदस्य देवी सुनार, नारी नागरण केन्द्रका पूर्व अध्यक्षहरु ज्वाला पुरी वन, सपना बोहरा, शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष निर्मला दंगाल लगायतले मन्तव्य राखेका थिए ।
केन्द्रकी महासचिव सरस्वती लामाले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष विष्णुकुमारी आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम केन्द्रकी अध्यक्ष खनालको अध्यक्षतामा भएको थियो ।