ह्याचरी उद्योगको निर्णण : १० दिन चल्ला उत्पादन बन्द

1295

चितवन २८ मंसिर । ह्याचरी उद्योगहरुले १० दिन चल्ला उत्पादन नगर्ने घोषणा गरेका छन । नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिको शुक्रबार भएको राष्ट्रिय भेलाले चल्ला बिक्रि नगर्ने निर्णय गरेको थियो ।
मङ्सिर २९ गते देखि १० दिनसम्म कुनै पनि ह्याचरीमा चल्ला ननिकाल्ने, चल्ला निकाल्न ह्याचरी मेशिनमा राखिएका अण्डासमेत नष्ट गर्ने, ५० हप्ताभन्दा बढीका माउ जातिका प्यारेन्ट बिक्री गर्ने र यस क्षेत्रमा देखा परेका समस्या समाधानमा सहयोग गर्न सरकार तथा वित्तीय संस्थासँग पहल गर्ने निर्णय भएको आज शनिबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

हाल नेपालका ह्याचरीमा २१ लाख प्यारेन्ट रहेको छ । सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा लागत मूल्य ५५ का दरले ३३ करोड रुपैयाँ बढी नोक्सान हुने बताए । पोख्रेलले व्यवसायीले गएको फागुन यता प्रतिचल्ला २५ रुपैयाँ हाराहारीका दरले लागत मूल्यभन्दा कममा बेच्नु पर्दा ठूलो नोक्सान बेहोर्नुपरेको जानकारी दिए ।
नेपालमा सातामा ३० लाख हाराहारी ब्रोइलर चल्ला आवश्यक भए पनि हाल उत्पादन ४५ लाख रहेको छ । उनले ७२ हप्तासम्म अण्डा दिने प्यारेन्ट माउलाई ५० हप्तामा बिक्री गर्दा उत्पादनमा केही कमी आउने अपेक्षा गरिएको पनि बताए । यसबाट एक लाख हाराहारी प्यारेन्ट घट्ने उनको भनाइ छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । तीमध्ये लेयर्सबाहेक सबै उत्पादन १० दिनका लागि बन्द गरिएको हो ।
भारतमा उत्पादन रोक्ने प्रयोग भए पनि नेपालमा पहिलोपटक व्यवसायीले उत्पादन रोक्न लागेका हुन् । दानाको कच्चा पदार्थको मूल्य बढ्दा प्यारेन्ट माउलाई खुवाउने दाना प्रतिकिलो ५० देखि ५५ पुगेको छ । ब्रोइलर पाल्ने कृषकले खुवाउने दाना ६० देखि ६५ पर्दछ ।