रत्ननगर महोत्सवमा जीपलाईन सफारी

1996

रत्ननगर २१ पुस । यही पुस २५ गतेबाट सुरुहुने रत्ननगर महोत्सव २०७६ का अबलोकनकर्ताहरुले जीपलाईन सफारीको मज्जा दिन पाउने भएका छन । महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघले महोत्सवको आर्कषण कार्यक्रमको रुपमा जीप लाइन सफारी राख्न लागेको हो ।

दुई बर्ष अघिको महोत्सवमा धरहरा राखेर चर्चा कमाएको रत्ननगर महोत्सवले भर्खरै मात्र चर्चामा रहेको जीपलाईन सफारीलाई यस बर्षको महोत्सवमा राखिएको हो । रत्ननगर महोत्सवमा भ्रमण बर्ष २०२० लाई प्राथमिकता दिएका छौं संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजाराम रेग्मीले भने जीप लाईन सफारी पर्यटन प्रर्बधनको एउटा आधार हो । महोत्सवमा जीपलाईन सफारीको अलवा वन्यजन्तुको चित्र सहित सेल्फी डाँडा,पञ्चकन्या सामुदायिक वनमा जीप सफारी,हेलिकप्टरमा पर्यटकीय क्षेत्रहरुको अबलोकन लगायतका कार्यक्रम समावेश गरिएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको छ ।

महोत्सवको पुस २५ गते सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ज्यूको वाहुलीबाट उद्घाटन हुने छ । उद्घाटन पूर्व नेपाल माविको प्राङ्गढबाट विशाल शोभायात्र निकालिने छ । रत्ननगर महोत्सव २०७६ मा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिव ५०० वटा स्टल रहने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

विगतमा जस्तै महोत्सव अन्र्तगत पौष २९ देखि ४ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा मासुको खपत बढाउन, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित पोल्ट्री विशेष तेश्रो चिकेन एण्ड एग फुड फेस्टिबल आयोजना गरिएको छ । यस पटकको फेस्टिबलमा पोल्ट्रीजन्य उत्पादनलाई विशेष प्राथमिकतामा राखिएको छ । फेष्टिवलमा कुखुराको मासु र अण्डाका परिकारहरुको प्रर्दशनी गरिने संयोजक ज्ञानबहादुर विसुरालले बताए ।