आन्दोलित कर्मचारीलाई उत्साह भर्दै कांग्रेस

545

१६ पुस, काठमाडौं । दुई तिहाई बहुमतको ओली सरकारलाई आफ्नै कर्मचारीहरुले आन्दोलन मार्फत असहयोग सुरु गरेका छन् । कर्मचारीका अगाडि सरकार निरीह देखिन थालेको छ भने विपक्षी नेपाली कांग्रेसका नेताहरुले चाँहि आन्दोलनलाई बल पुग्ने सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

सोमबार माइतीघर मण्डलामा भेला भएर निजामति कर्मचारीहरुले प्रदर्शन गरेको जुलुसले केपी ओली नेतृत्वको सरकारलाई ठाडै चुनौती दिएको सहजै बुझ्न सकिन्छ ।

उँदै अधिवेशन सुरु हुनै लागेका बेला सरकारले संसदलाई छलेर ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति असन्तुष्टि जनाउँदै सरकारी कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनरत कर्मचारीहरुले सरकारले खटाएका ठाउँमा जान इन्कार गरेका छन् । उता, संसद सचिवालयका कर्मचारीहरु पनि बैठक भत्ता बढाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संसद सचिवालयका कर्मचारीले दिउँसो केही घण्टामात्रै काम गर्न थालेका कारण संसदीय बैठकहरु अवरुद्ध हुन थालेका छन् ।