अर्थतन्त्रको रुपान्तरणका लागि नविकरणीय उर्जा प्रविधिलाई प्राथमिकता

778

सौराहा २० पुस । नेपाल सौर्य विद्युत उत्पादक संघको १८ औं वार्षिक साधारण सभा शुक्रवार चितवनको पर्यटकीय नगरी सौराहामा गरिएको छ । साधारण सभाको राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. कृष्ण प्रसाद ओलीले उद्घाटन गरे । कार्यक्रममा बोल्दै डा. ओलीले मुलुकको अर्थतन्त्रलाई रुपान्तरणका लागि नविकरणीय उर्जा प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले उर्जा संघीयता अबको एजण्डा हुनसक्ने विचार पनि व्यक्त गरे । उनले स्वच्छ उर्जा विश्वभरिको आवश्यकता भएको बताए । उनले विश्वस्तरका, क्षेत्रीय स्तरका, राष्ट्रिय स्तरका मञ्चहरुमा खनिज इन्धनबाट भएका क्षतिहरुबाट सचेत भई त्यस्ता श्रोतहरु न्युन गर्दै नविकरणीय उर्जा प्रविधिको विकास र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले नेपाल आफै पनि नविकरणीय उर्जाका श्रोतहरु जलविद्युत, सौर्य उर्जा, वायु उर्जा र बायोमास उर्जामा धनी मुलुक भए पनि खनिज इन्धन आयात गर्दै उपभोग गरिरहनु परेको बताए । उनले खनिज इन्धनको आयात घटाउँदै स्वच्छ उर्जा प्रविधिहरु परिचालन बढाउँदै जाने नीति सरकारले लिएको बताए । सरकारले नयाँ नीति निर्माण गर्ने, भएका नीतिहरु परिमार्जन गर्ने तर्फ ध्यान केन्द्रित गरिएको उनले बताए । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सचिव डा. बुद्धि रत्न खड्गेले मुलुकको आवश्यकता सुहाउँदो नविकरणीय उर्जा प्रविधि विकासका अध्ययन अनुसन्धान गर्दै प्राज्ञिक जनशक्तिलाई उपयोग गर्नु उपयुक्त हुने विचार व्यक्त गरे । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कायममुकायम कार्यकारी निर्देशक नवराज ढकाल नेपाल सरकार उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत रहेको केन्द्रले विद्युत सुविधा नपुगेका मुलुकका दुर्गम तथा सबै खालका क्षेत्रमा नविकरणीय उर्जा प्रविधि पु¥याउँदै विभिन्न कार्यक्रमहरु सफलतापूर्वक सञ्चालन गर्दै आएको बताए । नेपाल नविकरणीय उर्जा परिसंघ अध्यक्ष गुण राज ढकालले नविकरणीय उर्जा प्रवद्र्धनका लागि भएका नीतिहरु, कार्यक्रमहरु निजी क्षेत्र र उपभोक्ता मैत्री हुन नसकेको हुनाले नयाँ र परिमार्जित नीति निर्माण गर्न आवश्यक रहेको बताए । नेपाल सौर्य विद्युत उत्पादक संघका अध्यक्ष किरण गौतमले मुलुकलाई आवश्यक नविकरणीय उर्जा प्रविधि प्रवद्र्धन गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । यसका लागि सरकार निजी क्षेत्र साझेदारीलाई सशक्त र प्रभावकारी तुल्याउन विद्यमान नीति र कार्यविधिहरु परिमार्जन गर्नुपर्ने बताउँदै विशेष गरी लगानी नीति, कर नीति र दक्ष जनशक्ति उत्पादन गर्ने नीतिमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
संघका वरिष्ठ उपाध्यक्ष ईन्द्र खनालले स्वागत गरेको सो कार्यत्रममा निवर्तमान अध्यक्ष उत्तम सिटौला, संरक्षक नबिन भुजेल, विज्ञ समूहका संयोजक शेखर अर्याल, सल्लाहकार संयोजक हिरा बहादुर खत्री, संस्थापक संयोजक युगरत्न ताम्राकार मन्तव्य राखेका थिए ।