चितवनको रत्ननगरमा तेक्वान्दो प्रशिक्षण केन्द्र उद्घाटन

233

चितवन १७ साउन । चितवनको रत्ननगरमा निर्माण गरिएको तेक्वान्दो प्रशिक्षण केन्द्रको शनिवार उद्घाटन गरिएको छ । जिल्ला तेक्वान्दो कार्यसमिति चितवनले वडा नं ४ मा निर्माण गरेको सो प्रशिक्षण केन्द्रको रत्ननगरकी उपमेयर विमला दुवाडीले उद्घाटन गरेकी थिएन । जिल्ला तेक्वान्दो कार्यसमिति चितवनको विशेष साधारण सभाको अबसर पारेर प्रशिक्षण केन्द्र उद्घाटन गरिएको हो ।

तेक्वान्दो प्रशिक्षक,खेलाडी र देश विदेशमा रहेका समाजिक व्यक्तिहरुबाट आर्थिक संकलन गरी प्रशिक्षण केन्द्र निर्माण गरिएको अध्यक्ष पुष्पराज जोशीले जानकारी दिए । १६ लाखका लगानीमा सो केन्द्रको भवन निर्माण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि उपमेयर दुवाडीले खेलकुदको विकासको लागि स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको बताइन ।

खेलकुदले मान्छेलाई अनुसासित बनाउछ उनले भनिन् समाज सुधारको लागि पनि खेलकुदको विकासहुन आवश्यक छ । त्यसैगरी जिल्ला तेक्वान्दो कार्यसमिति चितवनका अध्यक्ष पुष्पराज जोशी सहित तीन जनाले पदबाट राजिनामा दिएका छन । अध्यक्ष जोशी,बरिष्ट उपाध्यक्ष रोशन खाँन र कार्यसमिति सदस्य मीरा थापाले पदबाट राजिनामा दिएका हुन । जोशी,खाँन र थापा राष्ट्रिय खेलकुद परिषद् मातहतका सहायक प्रशिक्षण हुन । नयाँ खेलकुद विकास ऐन २०७७ ले राखेप अन्र्तगतका कर्मचारीहरु कुनै पनि संघ तथा समितिहरुमा बस्न नपाउने व्यवस्था गरेपछि जिल्लाका तीन जनाले पदबाट राजिनामा दिएका हुन ।

जागिर र समितिको पद मध्ये एक रोज्नु पर्ने अबस्था आयो अध्यक्ष जोशीले भने लामो समय देखि गरिरहेको सरकारी सेवा छाड्न सकिएन,त्यही भएर तेक्वान्दो समितिबाट राजिनामा दिएका हौं । उपाध्यक्ष खाँन र कार्यसमिति सदस्य थापाले अध्यक्ष जोशीलाई राजिनामा बुझाएका हुन भने अध्यक्ष जोशीले जिल्ला तेक्वान्दो कार्यसमितिका कार्यबहाक अध्यक्ष गोपाल श्रेष्ठलाई राजिनामा पत्र बझाएका हुन । रत्ननगरमा शनिवार विशेष साधारण सभाको आयोजना गरी अध्यक्ष जोशीले राजिनामा दिएका हुन ।

साधारण भेलामा जिल्ला तेक्वान्दो कार्यसमितिको कार्यबहाक अध्यक्षमा गोपाल श्रेष्ठलाई चयन गरिएको छ । अन्य पदाधिकारी र सदस्यहरु यथावत रहने गरी उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई कार्यबहाक अध्यक्ष बनाइएको हो । सो अबसरमा कार्यबहाक अध्यक्ष श्रेष्ठले चितवनमा तेक्वान्दो खेलको विकासको लागि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा कोषाध्यक्ष धनबहादुर दराईले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रलाद प्रधान,निर्वतमान अध्यक्ष उत्तम गुरुङ,कार्यालय प्रमुख रामजी ढकाल,डिएसपी रविन कार्की,वडा नं १ का वडा सदस्य शालिकराम पराजुली, जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष सुदिप गिरी,सचिव शैलेश श्रेष्ठ,सहसचिव प्रदिप श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।