चितवनमा कोरोना : संक्रमित र मृत्यु दर उच्च

103

चितवन ।  चितवनमा कोरोना संक्रमित र मृत्यु हुनेको दर उच्च रहेको स्वास्थ्य कार्यालय चितवनले जारी गरेको तथ्याङ्कले पुष्टि गरेको छ ।
कोरोना संक्रमणका कारण चितवनमा मृत्युदर उच्च देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा ५९.०४ प्रतिशत निको भएका, ३९.६८ प्रतिशत सक्रिय संक्रमित र १.२६ प्रतिशतको मृत्यु भएको छ । जिल्लामा कूल संक्रमित संख्या २ हजार ७६४ रहेको छ । त्यसमध्ये ३५ जनाको मृत्यु भएको हो । जिल्लामा एक हजार ६३२ जना निको भएका छन् भने एक हजार ९७ जना सक्रिय संक्रमित रहेका छन् ।

मृत्यु भएकाहरु मध्ये पनि सबैभन्दा धेरै भरतपुर अस्पतालमा रहेका छन् । भरतपुर अस्पतालमा उपचारार्थ भर्ना भएका मध्ये ५ प्रतिशतको मृत्यु भएको छ । ८१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् भने १४ प्रतिशत उपचाररत रहेका छन् । यस अवधिमा भरतपुर अस्पतालमा उपचार गरिएका ३०१ कोरोना संक्रमित मध्ये १०२ जना चितवनभन्दा बाहिरी जिल्ला रहेका छन् । चितवन बाहेक १२ जिल्लाका संक्रमित यहाँ उपचार गर्न आउने गरेका छन् ।

संक्रमित मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका रहेका छन् । महानगरमा एक हजार ८२३ जना संक्रमित रहेका छन् । रत्ननगरका ३८८, खैरहनीका २०७, कालिकाका ८६, माडीका ६७ र ईच्छाकामनाका १७ जना संक्रमित रहेका छन् । जिल्लामा हालसम्म संक्रमण भएकामध्ये एक हजार ६६१ जना पुरुष र एक हजार १०३ महिला रहेका छन् ।

समग्र नेपालको मृत्युदरसँग तुलना गर्दा चितवनको मृत्युदर उच्च देखिएको हो । पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमणबाट नेपालको मृत्युदर ०.५९ प्रतिशत छ भने चितवनको १.२६ प्रतिशत पुगेकोे छ । आईतबारसम्म नेपालमा संक्रमण देखिएका १ लाख ७ हजार ७ सय ५५ जनामध्ये ६ सय ३६ जना अर्थात् ०.५९ प्रतिशतको ज्यान गएको छ । शनिबारसम्म मृत्युदर ०.५८ प्रतिशत थियो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष तथा बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी होम आईसोलेसनमा रहेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो “ज्वारो, खोकी लागेपछि घरमै बस्नु ठीक हो कि भनेर घरमै बस्ने र अन्तिम अवस्थामा निमोनिया सहित अस्पताल आउने धेरै भए ।” उहाँका अनुसार घरमा आईसोलेसन बस्नेले आफ्नो स्वास्थ्यको खतराको चिन्ह पहिचान (डेन्जर साईन मनिटरिङ) गर्न नसक्दा जोखिम बढेको छ ।