मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीको दुईतिहाइ

86

काठमाडौं २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ पुनर्गठन गरेको मन्त्रिपरिषदमा उनी पक्षका मन्त्रीहरुको संख्या दुई तिहाई पुगेको छ । बर्तमान मन्त्रिपरिसद्मा ओली पक्षका १६ जना, प्रचण्ड पक्षका ७ जना र माधव नेपाल पक्षको २ जना मन्त्री भएका छन । २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीले आफ्नो गुटको उपस्थिति दुई तिहाई पु¥याएका छन् ।

नेकपाका तीनै खेमा (ओली, प्रचण्ड र माधव) लाई मिलाउने गरी विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्माको नाम चर्चामा ल्याइए पनि नयाँ मन्त्री भने ओलीनिकट पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ बनेका छन् । योसहित २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री ओली निकटका मन्त्री संख्या झण्डै दुईतिहाइ पुगेको हो ।

बुधबार थपिएका तीनसहित मन्त्रिपरिषदमा ओली निकट १६ जना मन्त्री पुगेका छन् । यो संख्या कुल मन्त्रीहरुको ६४ प्रतिशत हो ।

बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका भने दुईजना (घनश्याम भुसाल र योगेश भट्टराई) मात्र छन् । यो ८ प्रतिशत अनुपात हो ।

पार्टी एकता पूर्वगरिएको भागबण्डा मार्फत् पाएका सातजना मन्त्री प्रचण्ड (पूर्व माओवादी) निकट छन् । यो मन्त्री संख्या अनुपात २८ प्रतिशत हो । त्यसबेला उपेन्द्र यादवलाई सरकारमा ल्याउँदै एक राज्यसहित तीन मन्त्री दिइएको थियो । यादवले सरकार छाडेपछि यो मन्त्रालय पनि ओलीले आफ्नै विश्वास पात्रलाई सुम्पिए ।

प्रचण्डको पक्षमा भनिएका लेखराज भट्ट र रामबहादुर थापा बादलले पार्टीभित्र ओली समूहलाई साथ दिँदै आएका छन् । पूर्वगुटलाई बिर्सने हो भने बादल र भट्टलाई गन्दाखेरि ओली पक्षमा १८ र प्रचण्ड पक्षमा ५ पनि भन्न सकिन्छ ।