सपना भिलेजद्धारा सिद्धिका किसानलाई मौरीको घार वितरण

71

चितवन २९ असोज । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले सिद्धिका ६ जना किसानलाई विहीवार मौरीको घार वितरण गरेको छ ।

इम्प्याक्टले सञ्चालन गरेको प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजनाले कालिका नगरपालिका वडा नं १० र ११ अन्तर्गत पर्ने किसानहरुलाई जनही २०÷२० वटा मौरीको घार वितरण गरेको हो । पाँच घार सम्बन्धित किसानले खरिद गर्नुपर्ने गरी २०÷२० घर मौरी प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जनाकारी दिए । विहीवार वडा नं १० का नरबहादुर तामाङ,कविराज तामाङ,सुर्यबहादुर सुनार र वडा नं ११ का प्रदिप चेपाङ,मित्रलाल चेपाङ र बुद्धिबहादुर चेपाङलाई मौरीको घार प्रदान गरिएको हो ।

रत्ननगरका मौरीपालक किसान सुर्य मानन्धरको फर्ममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ,रत्ननगरका मेयर नारायण वन र इम्प्याक्टका अध्यक्ष गिरीले ६ जना युवाहरुलाई मौरीको घार हस्तान्तरण गरेका थिए । सो अबसरमा कालिकाका मेयर श्रेष्ठले सिद्धिका युवाहरुलाई व्यवसायिक बनाउन सपना भिलेज संग सहकार्य गरी मौरी सहितको घार प्रदान गरिएको भन्दै उपलब्धी हासिल गर्ने गरी मौरीपालन व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

रत्ननगरका मेयर वनले स्थानीय सरकार र सपना भिलेजको सहकार्यमा भएको विपन्न बर्ग उत्थान कार्यक्रम उदाहरणीय रहेको भन्दै मौरीपालनबाट चेपाङ समुदायको आर्थिक अबस्था सुधार हुनेमा विश्वास व्यक्त गरे । इम्याक्टका अध्यक्ष गिरीले विहीवार १३ लाख ८० हजार मुल्य बराबरको १२० वटा मौरीको घार वितरण गरिएको जानकारी दिए । त्यसमा ३ लाख रुपैया कालिका नगरपालिकाले लगानी गरेको छ ।

स्थानीय सरकार,किसान र सपना भिलेजको त्रिपक्षिय लगानीमा व्यवसायिक रुपमा मौरीपालन गर्ने गरी मौरी सहितको घार प्रदान गरिएको बताए । अहिले मौरीको घार प्राप्त गरेका युवाहरुले तीन बर्ष भित्र २० घर मौरी फिर्ता गर्नुपर्ने हुन्छ । पहिलो र दोश्रो बर्ष पाँच पाँच घार र तेश्रो बर्ष १० घार मौरी फिर्ता गर्नुपर्ने र फिर्ता गर्न नसके क्षतिपूर्ति तिर्नुपर्ने गरी त्रिपक्षिय सहमति गरिएको इम्प्याक्टका म्यानेजर अनिल अर्यालले जानकारी दिए ।

गत बर्ष सपना भिलेजले सिद्धिका १० जना युवाहरुलाई २०० घर वितरण गरिएको थियो । इम्प्याक्टका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका वडा नं ६ का वडाध्यक्ष विनोद रेग्मी,वडा नं १० का वडाध्यक्ष दीलबहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा इम्प्याक्टका म्यानेजर मीनराज सापकोटाले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।