चाडपर्वलाई मध्यनजर गरी कञ्चनपुरमा निषेधाज्ञा जारी

57

कञ्चनपुर ३० असोज । चाडपर्वमा सावधानी अपनाउनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन दशैं, तिहार, छठ लगायतका नजिकिँदै गरेका चाडपर्वमा भिडभाड हुन नदिनका लागि निषेधाज्ञा जाारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जारी गरेको निषेधाज्ञा अनुसार दशैंका अवसरमा शक्तिपीठ, दुर्गा पण्डाल तथा मन्दिरहरुमा नित्य पूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ।

चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यहरुबीचमा मात्र मनाउन पाइने छ । अनावश्यक रुपमा हिँड्डुल, जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने भएको छ । घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, संघ संस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला जम्मा भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकुदलगायतका क्रियाकलाप गर्न पाइने नियम लागु गरिएको छ।

अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानुनी कारबाही गरिने जारी निषेधाज्ञामा उल्लेख गरिएको छ। चाडपर्वका अवसरमा जुवातास र गैरकानुनी रुपमा चिठ्ठा खोल्ने तथा कहीँ कतै त्यस्ता क्रियाकलाप भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत भनिएको छ । राजमार्ग छेउछाउका खुला रुपमा दूषित खाद्यपदार्थ बिक्री वितरण गर्ने र त्यस्ता स्थानमा राखिएका स्वास्थ्यलाई नकारात्मक असर पर्ने समान खरिद तथा उपभोग नगर्न समेत उपभोक्तालाई सुझाव दिइएको छ।