सपना भिलेजको काम : मुसहर महिलालाई सशक्तिकरण पछि आयआर्जन

123

रत्ननगर । सौराहामा रहेको सपना भिलेज सोसियल इम्प्याक्टले सीमान्कृत मुसहर समुदायका महिलाहरुका लागि सशक्तिकरण र आयआर्जनको काम संगसंगै अगाडि बढाएको छ । महिलाहरुलाई सशक्तिकरण अन्तर्गत नेतृत्व विकास र हिंसा विरुद्ध चेतना तथा आयआर्जन तर्फ सामुहिक तरकारी खेतीलाई अगाडि बढाइएको इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।

महिला सशक्तिकरणको लागि अभियाननै सुरु गरिएको छ भने वालवालिका र महिला हिंसाको विरुद्ध सडक नाटक लगायतका चेतना मुलक कार्यक्रम सुरु गरिएको छ । बुधवार सपना भिलेजको कार्यालय सौराहा मुसहर समुदायका महिला,महिला नेचरगाइड र महिला चालकहरुलाई सशक्तिकरण सम्बन्धी तालिम दिइएको छ । तालिममा इम्प्याक्टका अध्यक्ष गिरी सहित विदेशी नागरिक एल्सा ग्ल्मेन,इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेत,म्यानेजरहरु मीनराज सापकोटा,अनिल अर्यालले सहजीकरण गरेका थिए ।

सपना भिलेजले २३ जना मुसहर समुदायका महिलाहरुलाई समुहमा आबद्ध गराएर सामुहिक तरकारी खेती सुरु गर्दैछ । महिलाहरुको बृद्धिविकास र आयआर्जनको लागि एक विगहा जग्गा क्षेत्रफलमा दसैं लगतै तरकारी खेति सुरु गर्न लागिएको इम्प्याक्टका अध्यक्ष गिरीले बताए । सामुहिक रुपमा गरिने तरकारी खेतिबाट भएको आम्दानी महिलाहरुको आर्थिक विकासमा खर्च गर्ने योजना रहेको छ ।

तरकारी खेतिका लागि पहिलो बर्ष सपना भिलेजले लगानी गर्ने र दोश्रो बर्षबाट तरकारी विक्रीबाट भएको आम्दानीले खेतीलाई निरन्तरता दिनु पर्ने छ । मुसहर महिलाहरुलाई आफ्नो लागि आफैले गर्नुपर्छ भन्ने भावनाको विकास गर्दै आयआर्जनमा अग्रसर बनाउने उद्देश्यले जग्गा भाडामा लिएर तरकारी खेति गर्न लागेको इम्प्याक्टले बताए ।