चितवनमा सोमबार दुई कोरोना संक्रमितको मृत्यु

99

चितवन। चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका ५१ जनाको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजका निर्देशक प्रा.डा. दयाराम लम्सालले जारी गरेको विज्ञप्ती अनुसार भरतपुर महानगरपालिका–१० की ६७ वर्षीया महिलाको सोमबार दिउँसो पौने दुई बजे मृत्यु भएको छ । उनी कात्तिक ५ गते उक्त अस्पताल आएकी थिइन् । मृगौलाको दिर्घ रोगीसमेत रहेकी उनी श्वासप्रश्वास र उच्च ज्वरोको समस्या लिएर अस्पताल आएकी थिइन् । कात्तिक ६ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

यसअघि भरतपुर महानगरपालिकाका–१ का ७७ वर्षका पुरुषको आइतबार मध्यरातपछि मृत्यु भएको अस्प्तालले जनाएको छ । कात्तिक २ गते संक्रमण पुष्टि भए पनि उनी होम आइसोलेसनमा बस्दै आएका थिए । समस्या बढ्दै गएपछि कात्तिक ८ गते अस्पताल आएका थिए । उनको आईसीयूमा भेन्टिलेटरमा राखेर उपचार भएको थियो ।