डोरमणि सरकार : न हाँसको चाल, न बकुल्लाको ताल

679

विपक्षी/बागी सांसदहरुका गुनासा 

 काठमाडौं, २३ पुस  ।  हेटाैंडामा अस्थायी राजधानी रहेर मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा चलिरहेको प्रदेश ३ सरकारले आफ्नो नाम र स्थायी राजधानी तोक्न सकेको छैन । यो प्रदेशमा पनि विपक्षी दलहरु सरकारको काम गराइसँग सन्तुष्ट छैनन् । प्रदेश नं ३ मा तत्कालीन नेकपा एमालेको नै एकल बहुमत थियो । एकीकृत नेकपा माओवादीसँग पार्टी एकता भैसक्दा नेकपाको दुईतिहाई बहुमत प्रदेशसभामा छ । ११० सदस्यीय प्रदेशमा नेकपाका ८२ सांसद छन् । यीमध्ये एमालेबाट विजयी भक्तपुरका सांसद हरिशरण लामिछानेको निधन भएको छ ।

प्रदेश ३ मा नेपाली कांग्रेसका २०, विवेकशील साझा पार्टी ३, नेपाल मजदूर पार्टीका २ र राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) एवं स्वतन्त्र (नयाँ शक्ति नेपाल) एक/एक सदस्य छन् । प्रदेश नं तीनमा दलीय संरचना हेर्दा विपक्षीहरु अति नै कमजोर र साना देखिन्छन् । नेकपाले केन्द्रीय राजधानीसमेत रहेको प्रदेशसभालाई चलाइरहँदा कांग्रेस, विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति र स्वतन्त्र सांसद विपक्षी बेञ्चमा छन् ।

संसदमा सत्ता पक्षका तर्फबाट नेकपाका सांसद रामेश्वर फुँयालले समन्वय गरिरहेका छन् । कांग्रेसका इन्द्र बाँनिया, विवेकशील साझाबाट रमेश पौडेल, नेमकिपाबाट सुरेन्द्रराज गोसाई, राप्रपाबाट रीता माझी, राप्रपा प्रजातान्त्रिकबाट रीना गुरूङ र स्वतन्त्र (नयाँ शक्ति) बाट प्रेमबहादुर तामाङले विपक्षी बेन्चबाट सरकारलाई खवरदारी गरिरहेका छन् ।

चितवनबाट प्रदेश सरकारमा रहेका सांसदहरु हेटौडा नगई प्रायः जिल्लाका कार्यक्रममा घुमिरहेका हुन्छन् । कहिलेकाँही त कुनै एक कार्यक्रममा नै प्रदेश सांसदहरुको भिडभाड नै लाग्ने गर्छ । झट्ट हेर्दा प्रदेश सांसदहरु कामकाजी नभएको जस्तो देखिन्छ । प्रदेश ३ का सांसदहरु अधिकांश आफ्नो गृह जिल्लामा नै बस्छन् । महिनामा मुस्किलले दुई तीन दिन प्रदेशसभाको बैंठक बस्छ । अरु बेला प्रदेशको राजधानी हेटौंडामा सांसदलाई के गरेर बस्ने भन्ने समस्या हुने गरेको छ ।प्रदेश तीनको अस्थायी राजधानी हेटौंडा आउने खासै रुची देखाउँदैनन् प्रदेश सांसदहरु । तर, वाध्यताले आउनैपर्ने अवस्था भने विद्यमान छ । प्रदेश ३ का मुख्यमन्त्री हेटौंडाकै हुँदा उनीमाथि ठूलो प्रेसर छ, अस्थायी राजधानीलाई स्थायी गर्न ।

गत जेठमा सुरु भएको प्रदेशसभाको बर्खे अधिवेशन गएको पुष १२ गते मैझारो भयो । हिउँदे अधिवेशन सुरु भएको छैन । योवीचमा ४२ दिन बैंठक बस्यो, घण्टामा हिसाव गर्दा जम्मा ६६ घण्टा । यसवीचमा २२ वटा कानून पारित भए । यसअघि ०७४ माघ १८ देखि ०७५ बैंशाख १ गतेसम्म वसेको बैंठकले तीनवटा कानुन पास गरेको थियो । देशका सातबाट प्रदेश सरकारमध्ये तीनवटाले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाए पनि प्रदेश ३ सरकारलाई ‘भालुको कम्पट’ बनेको छ । सांसदको दिमागमा समेत अस्थायी मानिसकताकाले घर गरेको छ ।

प्रदेश सभामा विपक्षी दल कमजोर भए पनि उसले प्रदेश सरकारलाई पनि आफुजस्तै कमजोर र निरीह बनेको आरोप लगाउने गरेको छ । प्रदेश सरकार र संसदमा नेकपालाई आफ्ना नीति तथा कार्यक्रम लागु गराउन रोक्ने कोही पनि छैन । तर, काम भने कुनै सन्तोषजनक नभएको धारणा सबैजसो विपक्षीको छ । प्रमुख विपक्षी दलको नेतृत्व गरेका नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बाँनियाले प्रदेश सरकार विपक्षीको अवरोधविना समेत काम गर्न नसकेर निरिह बनेको बताउँछन् । प्रदेश सभाका बैठकमा कमै मात्र उपस्थित हुने बाँनिया संसदमा पुगेका बेलामा भने सरकारलाई थर्काउने गरी भाषण गर्छन् ।

प्रदेशका मुख्यमन्त्री जिल्ला जिल्लामा चाहार्दै हिँडेको, उद्घाटन र गोष्ठीहरुमा मात्रै केन्दि्रत बन्दा सरकारका कामहरु लठीबज्र बनेको बाँनियाको आरोप छ । प्रदेश सभाको स्थायी राजधानी र नाम तोक्ने जस्ता महत्वपूर्ण विषयलाई सरकारले आलटाल गरिरहेको टिप्पणी बानियाँको छ । संसदलाई बिजनेसविहीन बनाउने र सांसदहरूलाई फुर्सदिलो बनाउने काम भैरहेको सांसद बाँनियाको आरोप छ ।

विपक्षीहरू अब बस्ने हिउँदे अधिवेशनमा जसरी पनि प्रदेशको स्थायी राजधानी र नाम तोक्ने पक्षमा देखिन्छन् । यद्यपि विपक्षीको मत अति नै सानो र कमजोर भएकाले उनीहरु निर्णायक अवस्थामा भने छैनन् । प्रदेशको नाम र राजधानीजस्ता विषयले सत्तारुढ नेकपाभित्र नै आन्तरिक द्वन्द्व बढाउँदा समस्या आएको बुझाइ विपक्षी दलको छ ।

विवेकशील साझा पार्टीका नेता रमेश पौडेल बेला बेलामा प्रदेश संसदमा सत्ता पक्षको दम्भ देखिने गरेको बताउँछन् । स्वार्थ अनुकुलका कामहरु छिटो छिटो भनेर पेलेर जाने काम हुँदै आएको उनको गुनासो छ । ‘जुन गतिमा प्रदेश सरकारले काम गर्नुपर्ने हो सोअनुसार भएको छैन’ नेता पौडेलले  भने ‘प्रदेश सरकारलाई राम्रा कुराहरुमा सर्मथन र नराम्रा कुराहरुमा विपक्षीका नाताले खवरदारी गर्दै आएका छौं ।’

प्रदेश सरकारको काम कछुवाको गतिमा भन्दा पनि अझै कम भएको भनाइ छ राप्रपा प्रजातान्त्रिककी सांसद रीना गुरूङको । प्रदेश सरकारले ल्याएका भनिएका कार्यक्रमहरु कुनै पनि लागु गराउन नसकेको बताउँदै सांसद गुरूङले भनिन् ‘सुरूङमार्ग, हाइड्रो पावर र विद्युतीय बसका कुराहरु कार्यक्रममा मात्रैं आए, कार्यान्वयनमा जान सकेनन् ।

प्रदेश संसदमा नेमकिपाबाट प्रतिनिधित्व गर्ने सांसद सुरेन्द्रराज गोसाईले प्रदेश सरकारको काम न हाँसको चाल, न बकुल्लाको ताल भएको बताए । ‘सरकारले कुनै काम गरेको छैन, सिन्को पनि भाँचेको छैन’ सांसद गोसाईले  भने ‘व्यक्तिगत स्वार्थ र भागवण्डामा बाँडीचुँडी खाने मात्रै ध्याउन्न छ । जनताको पक्षमा सरकारले केही सोचेको छैन ।’

सत्तापक्ष आन्तरिक द्वन्द्वमा फसेको भन्दै फेरि मन्त्रिमण्डल पुर्नगठन गरेर भागवण्डामा जाने तयारी भैरहेको आरोप सांसद गोसाईले लगाए । यसअघि मन्त्री केशव स्थापितमाथि भएको कारवाही र मुख्यमन्त्रीसँगको स्थापितको झगडालाई गोसाईले संकेत गरेका हुन् ।

प्रदेश सरकारले ल्याउने राम्रा काममा सधैं साथ दिने गरेको विपक्षी दलहरुको साझा मत छ । ‘सरकारले गर्ने जनपक्षिय काममा कहिल्यै पनि विपक्षी आँखा लगाएका छैनौं’ प्रमुख विपक्षी नेता इन्द्र बाँनियाले  भने, ‘मुख्यमन्त्रीज्यूले विद्युतीय सवारी किन्नुभयो, हामीले विरोध गरेनौं ।’

सरकारको दोस्रो नीति तथा कार्यक्रममा समेटिएको सुरूङ मार्ग, हाइड्रो पावर र विद्युतीय बस सञ्चालन जस्ता विषयमा विपक्षीहरुको साथ रहेको राप्रपा प्रजातान्त्रिककी सांसद रीना गुरूङ बताउँछिन् । ‘हामी त राम्रा काममा साथ दिएर नै अघि बढेका छौं,’ गुरुङले  भनिन्, ‘तर सरकारले नै काम गर्न सक्दैन ।’ अनलाइनखबरबाट