बाइडेनको जितसँगै अमेरिकी सहरमा विजय उत्सव, ट्रम्पले गरे अस्वीकार

336
usa final point

अमेरिका, २३ कार्तिक । डेमोक्र्याट नेता जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। ७८ वर्षका जो बाइडेन डेमोक्रेटिक पार्टीबाट अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए । उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । अमेरिकामा ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले २७९ इलेक्टोरल भोट ल्याएका छन् । उनका प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको २१४ इलेक्टोरल भोट छ ।

ट्रम्पलाई पराजित गरेर बाइडेन राष्ट्रपति बनेसँगै अमेरिकाका शहरमा उनका समर्थकले विजय उत्सव मनाइरहेका छन् । पेन्सिलभेनिया तथा नेभाडको नतिजा आफ्नो पक्षमा पार्दै बाइडेनले ह्वाइट हाउसको ढोका उघारेका हुन् । बाइडेन विजयी भएसँगै समर्थकले अमेरिकाका विभिन्न सहरमा विजयी उत्सव मनाउन थालेका छन् ।

नोभेम्बर ३ मा कोरोना संकटकैबीच अमेरिकामा राष्ट्रपति चुनाव भएको हो । कोरोना महामारीका कारण यो वर्ष १० करोड भन्दा बढी अमेरिकीले अग्रिम मतदान गरेका थिए ।​ बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा पाको उमेरमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने  व्यक्ति बनेका छन् । उनी तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।​

बाइडेनले आफ्नो उपराष्ट्रपतिका रुपमा अश्वेत महिला कमला ह्यारिसलाई चयन गरेका छन् । ह्यारिस अमेरिकाको इतिहासमा उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला र पहिलो अश्वेत महिला हुन् ।​ बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति बनेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार सात करोड ४५ लाख भन्दा बढी अमेरिकीले बाइडेनको पक्षमा मतदान गरेका छन् ।

Biden home town hopes for him

राष्ट्रपति निर्वाचित हुँदै गर्दा डेलवरस्थित घरमा रहेका बाइडेनले पूर्व राष्ट्रपति बाराक ओबामा, सभामुख न्यान्सी पेलोसीसहितका नेतासँग कुराकानी गरेको अमेरिकी मिडियाले उल्लेख गरेका छन् । ​

बाइडेनले लामो समयदेखि रिपब्लिकनको पडक रहँदै रहेको एरिजोना र जर्जियामा जित निश्चित गरेका छन् । उनले अघिल्लो चुनावमा गुमेका  विस्कनसिन, मिसिगन र पेन्सिलभेनियामा आफ्नो जित देखाएका छन् । चार राज्यको नतिजा अझै आउन बाँकी नै छ । एरिजोना र जर्जियामा बाइडेन अगाडि छन् । त्यहाँ ११ तथा १६ इलेक्टोरल मत रहेको छ । उता ३ र १५ इलेक्टोरल मत रहेका अलास्का र नर्थ क्यारोलाइनामा ट्रम्प अगाडि छन् ।

ट्रम्पले अझैसम्म बाइडेनलाई बधाई दिन अस्वीकार गरेका छन्। उनले लगातार धाँधलीको आरोप लगाएका छन् । राष्ट्रपति निर्वाचित बाइडेनले केही समयमै सम्बोधन गर्ने तयारी गरिराखेका छन् । सम्बोधनमा उपराष्ट्रपति बनेकी कमला ह्यारिसलेसमेत सम्बोधन गर्नेछिन् ।