शान्तिकुञ्ज सहकारीमा दुधको विविधिकरण उद्घाटन

459

रत्ननगर । रत्ननगर १२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थामा शनिवार दुधको विविधिकरणको उद्घाटन गरिएको छ । दसैंबाट दुधको परिकार बनाउन सुरु गरेको सो सहकारीले तिहारको लक्ष्मीपुजाको दिनमा दुधको विविधिकरण उद्घाटन गरिएको हो ।

दुधको परिकार बनाउने उद्योग र पसलको उद्घाटन गर्दै प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले शान्तिकुञ्जले मुलुकभरीका सहकारीहरुलाई सिकाइ हुने गरी अनुपम काम गरेको बताए । यो महिला जागरणको एउटा सफल काम हो उनले भने यसलाई सबै सहकारीले अनुसरण गर्न आवश्यक छ । मेयर नारायण वनले रत्ननगरको पहिचान हुने गरी दुधका परिकार उत्पादन गर्न आग्रह गरे । संस्थाकी अध्यक्ष पार्वती न्यौपानेले आर्थिक कारोवार,सहुलीयत उपभोक्ता पसलको सफलता पछि दुध संकलन र परिकार बनाउने काम सुरु गरिएको बताइन ।

संस्थाले दुध,घ्यू,दही,पनिर र मिठाइका परिकारहरु पेडा,चमचम,लड्डु,रसबरी,लालमोन,बर्फी,कालाजमुन तयार गरेर विक्री गर्न सुरु गरेको छ । अहिले सम्म उत्पादन भएका सामाग्रीहरु शेयर सदस्य र खुद्रा व्यापारीहरुले खरिद गरिरहेको र सम्भावित बजारको खोजि भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिइन । सो सहकारीले दैनिक एक हजार २०० लिटर दुध संकलन गर्दै आएको छ ।

संस्थाकी उपाध्यक्ष निर्मला दंगालले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव दुर्गा बरालले सञ्चालन गरेकी थिइन । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी, जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडी,महिला तथा वालवालिका पौडेल,प्रमुख दीपा घिमिरे,जिल्ला समन्वय समितिकी अध्यक्ष इन्दिराआमा समुहकी सचिव अनिता अर्याल लगायतले मन्तव्य राखेका थिए । उद्घाटन कार्यक्रम संस्थाकी अध्यक्ष पार्वती न्यौपानेको अध्यक्षतामा भएको थियो ।