पूर्वी चितवनका चार नगर बीच ठुला योजनामा सहकार्य

519

रत्ननगर २३ पौष । पूर्वी चितवनको चार नगरपालिकाले विकास निर्माणको कामलाइ संयुक्तरुपमा सञ्चालन गर्न थालेका छन । दमकल खरिद, गुणस्तर मापनको प्रयोगशाला निर्माण, कर निर्धारणको दर, चक्रपथ निर्माण, पुल निर्माण, नदीजन्य वस्तु उत्खनन्लगायतका विषयमा भौगोलिक हिसाबले जोडिएका रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिकाले विषयमा संयुक्तरुपमा काम थालनि गरेका हुन ।

नगरपालिकाले छुट्टाछुट्टै हिसाब कतिपय काम गर्दा खर्चिलो हुने भएकाले संयुक्तरुपमा काम सुरु गरेको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले बताइन् । चार नगरपालिका मिलेर भविष्यमा महानगर बन्ने निश्चित भएकाले चक्रपथ निर्माणको विषयमा छलफल भइरहेको उनले जानाकारी दिइन ।

एक नगरबाट अर्को नगरमा जाने आउने पुल निर्माणमा सहकार्य गरिने बताउँदै खैरहनी नगर प्रमुख लालमणी चौधरीले विपद् व्यवस्थापनका लागि संयुक्त रुपमा केन्द्र स्थापना गर्न लागिएको बताए । नदीजन्य वस्तुको निकासीको दररेटमा एकरुपता दिइएको बताउदै प्रमुख चौधरीले पूर्वी चितवनका चार नगरपालिकाले संयुक्तरुपमा छलफल गरी नदीमा सवारीसाधन धुन बन्द गराइएको बताए ।

संयुक्तरुपमा दुई वटा दमकल खरीद गर्ने सहमति भएका कालिका नगर प्रमुख खुमनारायण क्षेष्ठले जानाकारी दिए । उनी दमकल खरीद समितिका सयोजक समेत हुन । पूर्वी चितवनको चार नगरपालिका बिच धेरै विषयमा सहकार्य गरेर विकास निर्माण गर्दै जाने सहमति भएको छ । समस्याको समाधान संयुक्त रुपमा नै गर्नुपर्ने भएकाले सबै नगरपालिका एक आपसमा मिलेर काम गरेको सबैभन्दा पुरानो रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनने बताए ।