आजदेखि चितवन महोत्सव,पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

727

चितवन २५ पुस । १२ औं चितवन महोत्सव आज बुधवारदेखि सुरु हुदैछ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनले संयुक्त रुपमा आयोजन गरेको सो महोत्सवको नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले उद्घाटन गर्नेछन । शोभायात्रा पछि करिब १२ बजे महोत्सवको उद्घाटन हुनेछ । पौष २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको शोभायात्रामा ३०० भन्दा बढी संघसंस्था सहभागि हुने छन् ।
महोत्सवको प्रदर्शनी स्थल नारायणी नदी किनारमा निकै आकर्षक साजसजावटसहित तयार पारिएको छ । नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ९० वटा स्टल रहेका छन् । स्टल धेरै भएकाले परिसर विगतमा भन्दा फराकिलो बनाइएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा रहँदै आएको चितवन महोत्सव महोत्सव परिसर प्रवेश द्धार देखिनै यस संस्करणको भव्यता देख्न पाइनेछ । १२ औं संस्करणको महोत्सवलाई भ्रमण वर्ष २०२० लक्षित गर्दै गर्दा प्रवेशद्धारमा त्यसको झल्को देख्न सकिन्छ । चितवनका १० पर्यटकीय गन्तव्यको तस्विर सहितको जानकारी प्रवेशद्धारमा राखिएको छ । चितवन महोत्सव परिसरबाट नगरवनसम्म जिप सफारीको समेत व्यवस्था गरिएको महोत्सवका संयोजक सहनलाल प्रधानले जानकारी दिए ।
महोत्सवमा हरेक संस्करणमा आकर्षणको केन्द्र बन्ने आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरुको निर्माण गरिएको छ । आदिवासी जनजाती महासंघ चितवनको संयोजनमा महोत्सव स्थल नारायणी नदी किनारमा आदिवासी जनजातीको पहिचान झल्कने घर निर्माण गरिएकछन् । घरमा आदिवासीको रहनसहन , उनीहरुले प्रयोग गर्ने भाँडा वर्तन , सांस्कृतिक पहिचान झल्कने भेषभूषा समेत प्रर्दशनीका लागि राखिएको छ । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएको छ ।
२०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।