लक्ष्मी हेल्प फाउण्डेसनद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

537

गैंडाकोट २५ पुस । लक्ष्मी हेल्प फाउण्डेसन गैंडाकोटले चितवनको सिद्धीमा रहेका चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । लक्ष्मी हेल्प फाउन्डेशनका संरक्षक स्व. लक्ष्मण अधिकारी (उपाध्याय)को स्वर्गारोहणको ४५ औं दिनको पुण्यतिथिमा श्री राष्ट्रिय आधारभुत विद्यालय लोतंती कालिका नगरपालिका १० चितवनमा अध्ययनरत ६० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । न्यानो कपडा वितरण कार्यक्रममा स्व. लक्ष्मण अधिकारीका छोराहरु गणेश अधिकारी, विष्णु अधिकारी, भाई टिकानिधी अधिकारी, अन्टी सिता अधिकारी, सहजकर्ता गोविन्द रिमालले संयुक्तरुपमा प्रदान गर्नुभएको थियो । श्री राष्ट्रिय आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुकराम प्रजाले न्यानो कपडा लगाउन पनि नसक्ने घर परिवारका बालबालिकालाई सहयोग गर्ने अधिकारी परिवारलाई पुण्य मिलोस भन्दै कामना गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक गीता बुर्लाकोटीले अत्यन्तै दयनिय अवस्थाका चेपाङ परिवारका बालबालिकालाई न्यानो कपडा वितरण कार्यले न्यानो प्रदान गर्दै शैक्षिक क्रियाकलापमा समेत सहयोग पुग्ने बताउनुभयो । फाउण्डेशनले यसअघि पर्वतका २ विद्यालयमा कम्प्युटर कक्ष स्थापना गर्नुका साथै गैंडाकोटका विभिन्न धार्मीक मठ मन्दिर, विद्यालयमा आर्थीक सहयोग गरेको छ । अझै विभिन्न विद्यालयमा सहयोग कार्यक्रम राखिएको फाउण्डेशनका गणेश अधिकारीले जानकारी दिनुभयो ।