छैठौं खिचरा महोत्सवको तयारी अन्तिम चरणमा, यस वर्षको आकर्षण थारु मिनि गाउँ(फोटो सहित)

718

सञ्जय चौधरी ।

चितवन, पुस, २६ । थारु समुदायको महान् चाड माघी (खिचरा) को अवसरमा पूर्वी चितवनको खैरहनी नगरपालिका ५ गौचरन परिसरमा पुस २८ गतेदेखि माघ ७ गतेसम्म आयोजना हुन लागेको ‘छैठौं खिचरा महोत्सव २०७५’ को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति भाषा, संस्कृति नेपालको पहिचान” भन्ने मूल नाराका साथ थारुको पहिचान र संस्कृति जोगाउन हरेक वर्ष हुने खिचरा महोत्सव यस पटक छैठौं संस्करण हो । थारू कल्याणकारिणी सभा क्षेत्र नं. ७ को आयोजनामा हुन लागेको महोत्सवकालागि प्रदर्शनी स्थल गौचरण (जबकौली, दुर्गामन्दिर) परिसरमा महोत्सवको स्टल निर्माण, स्वागत गेट निर्माणको काम अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका संयोजक चुडामणी चौधरीले जानकारी दिनुभयो ।

यस वर्षको महोत्सवमा थप आकर्षकको रुपमा थारु मिनि गाउँ अवलोकन, आँखामा पट्टि बाधेर हाँस समाउने प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्लो साईकल रेश, भेटरान दौड, डुंगा सयर लगाएतका कार्यक्रमहरु रहेको आर्थिक समितिका संयोजक टिकेन्द्र चौधरीले जानकारी दिनुभयो ।

महोत्सव परिसर प्रवेशद्धार देखिनै यस संस्करणको भव्यता देख्न पाइनेछ । महोत्सवको मूल प्रवेशद्धारमा थारु समुदयले खेत बारीमा काम गर्दाको समयमा आफ्नो शरिर घाम पानीबाट जोगाउन बास र पातले बुनेर बनाईएको एकप्रकारको ठूलो टोपी (छतिया) को आकर्षक गेट निर्माण सहति थारु समुदायको पहिचान झल्काउने पहल गरिएको छ । मूल प्रबेशद्धार प्रबेश गर्ने बित्तिकै चिटिक्क परेको थारु मिनि गाउँ रहेको छ । त्यस मिनि गाउँमा थारु समुदायले प्रयोग गर्ने ढिकि, जातो, तेल पिन्ने कोल, पूजा पाठ गर्ने मन्दिर (ब्रम्हस्थान) देख्न सकिने छ ।

निकै आकर्षक साजसजावटसहित तयार भइरहेको गौचरन प्रदर्शनी स्थलमा यस पटक १५० वटा व्यवसायिक स्टल, २२ वटा थारुका खानाका परिकार र १८ वटा थारू संस्कृतिसँग जोडिएका स्टल गरी २०० वटा स्टल रहने छन् । महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोङ्घी, चिचर, माछा लगाएत अन्य फुड फेष्टिबल हुनेछ । यस वर्ष स्टल धेरै भएकाले बिगतका बर्षहरु भन्दा यस वर्ष परिसर फराकिलो बनाईएको छ ।

महोसव उद्धघाटन पूर्व पर्सा बजारको मगनि चोकमा बिहान १० बजे जम्माभई पर्साको चौबिसकोठी हुदै पुरानो पर्सा हुदै महोत्सव परिसर सम्म वृहत शोभायात्रा निकालिने आयोजकले जानकारी दिएको छ । महोत्सवको शोभायात्रामा ९५ भन्दा बढी संघसंस्था सहभागि हुने भएकाछन् । थारुको पहिचान र संस्कृति जोगाउन गरिदै आएको खिचरा महोत्सवको शोभायात्रामा सहभागिता जनाउन आग्रह गर्दै ९० भन्दा बढीलाई पत्र काटिएको छ । पत्राचार गरेका बाहेक पनि धेरैले स्वेच्छाले नाम टिपाएको हुँदा शोभायात्रामा उल्लेख्य सहभागिता हुनेमा ढुक्क रहेको शोभायात्रा व्यवस्थापन समिति संयोजक कौशिला चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा बाल उद्यानलगायत मनोरञ्जनात्मक खेलहरु र राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयश चौधरीले जानाकारी दिए । महोत्सवमा मनोज महत्तो, सन्जय चौधरी, श्री निवास चौधरी, अनु चौधरी, अमितसिंह चौधरी, रोहितसिंह चौधरी, नरेश जोगी, निकिता मण्डल थारु, आर के चौधरी ¥यापर लगायतका थारु कलाकारहरुको सहभागिता रहेन उहाले बताए । राष्ट्रिय कलाकार तर्फ अञ्जु पन्त, दिपक बज्राचार्य, आस्था राउत, काउली बुढी, हेमन्त शर्मा, मिलन लामा, सुनिल पण्डित, अर्जुन कौशल, सुरेश लामा, अल्मोडा राना, पशुपति शर्मा रहेका छन् ।

महोत्सवबाट आम्दानी भएको रकमले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरी अध्ययनमा प्रोत्साहित गरिने छ । महोत्सव अवलोकनका लागि ५० रूपैयाँ टिकट शुल्क लाग्ने छ भने विद्यार्थीहरुका लागि (परिचय पत्रका आधारमा) रु ३० कायम गरिएको जनाइएको छ । माघ ७ गते सम्म चल्ने महोत्सवको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले उद्धघाटन गर्नुहुने छ ।

२०७० सालदेखि प्रत्यक वर्ष महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवको आयोजना गर्न करिव ४० लाख रूपैयाँ बराबर खर्च हुने अनुमान गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक तथा थारु पत्रकार संघ चितवनका अध्यक्ष कारी महतोले जानकारी दिनुभयो । महोत्सवमा करिव १ करोड बरावरको कारोबार हुने अनुमान गरिएको छ ।