कवि गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गरिने

487

गैंडाकोट २६ पुस । ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपाल गैंडाकोटले कविवर गोविन्दराज विनोदीलाई नागरिक अभिनन्दन गर्ने भएको छ । विहीबार जनक माविमा आयोजना गरिएको पत्रकार सम्मेलनमा २८ गते शनिबार जनक माविमा कविवर विनोदीलाई नागरिक अभिनन्दन गरिनेछ । साथै सोही कार्यक्रममा “गोविन्दराज विनोदी ः जीवन र सृष्टि” नामक ग्रन्थ लोकार्पण गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले जानकारी दिए । सो कार्यक्रम प्राज्ञ प्रा. डा. वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा हुने उनले जानकारी दिए । सो अवसरमा गैंडाकोट ८ विजय विकास स्रोत केन्द्र नजिकै कवि विनोदीको निवासदेखि विहान १० बजेदेखि जनक माविसम्म शोभायात्रा पश्चात अभिनन्दन गरिने उनले जानकारी दिए । नवलपरासी र चितवनका साथै यस क्षेत्र र राष्ट्रकै एक विशिष्ट साहित्यिक, शैक्षिक, सामाजिक प्रतिभा, सन्त स्वभावका आशुकवि गोविन्दराज विनोदीका विभिन्न लेख रचना प्रकाशनमा छन् । २०६९ सालमा गैंडाकोटमा स्थापित प्रतिष्ठानले विभिन्न सम्मान, ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य सिविर, विभिन्न स्रष्टाहरुको लोकोपकारी कृतिहरु प्रकाशन गर्दै आइरहेको छ ।