माघ १६ देखि बछौली माविमा महायज्ञ,तयारी तीब्र

685

रत्ननगर २७ पुस । विद्यालयको स्तरउन्नती गर्न आर्थिक संकलन गर्ने उद्देश्यले रत्ननगर ६ मा रहेको बछौली माविमा माघ १६ गतेबाट श्रीमद्भागवत महापुराण धनधान्याचल ज्ञान महायज्ञ सुरु हुदैछ । महायज्ञ सम्पन्न गर्न आवश्यक पर्ने कामहरु तीब्र रुपमा भइरहेको आयोजकले जनाएको छ । महायज्ञको प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको काम तीब्र रुपमा भइरहेको विद्यालयका अध्यक्ष राममणि खनालले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न वडाध्यक्ष वलराम दाहाल संयोजक रहेको मुल समारोह समिति र विभिन्न उपसमितिहरु बनाएर काम भइरहेको छ । विद्यालयमा कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यम र कक्षा ११ र १२ मा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनको लागि महायज्ञ आयोजना गरिएको प्रधानाध्यापक शिवराम मरहठ्ठाले बताए । महायज्ञमा पण्डित वालकृष्ण अर्यालले कथाबाचन गर्नेछन । महायज्ञमा अदितिय राष्ट्रशान्ति,पितृमोक्ष,सन्तान सुखका लागि १००८ शालिग्राम पुजा तथा विराट धनधान्याचल सप्ताहव्यापी महापर्व हुने छ ।