रक्तदान मानव सेवाको सबैभन्दा पुण्य काम : मेयर दाहाल

266

चितवन, ०१ माघ ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रक्तदान मानव सेवाको सर्वोत्कृष्ट दान तथा पुण्यकर्म भएको बताउनु भएको छ । चितवन महोत्सवको अवसरमा महोत्सव परिसरमा भिमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्याङ्जा नेवा गुठीद्वारा सोमबार आयोजित रक्तदान कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले मानव शरीरमा तीन महिनामा त्यसै खेर जाने रगतलाई दान गरेर मानव जीवन बचाउन सकिने बताउनु भयो । प्रमुख दाहालले भरतपुरवासीलाई रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै नियमित रक्तदान गरी सेवा गर्न आह्वान समेत गर्नुभयो । ‘चितवन देशकै मध्य भागमा पर्दछ, त्यसमाथि भरतपुर मेडिकल सिटीको रुपमा विकसित हुँदैछ । त्यसैले पनि महानगरवासीको नियमित रक्तदानको आवश्यकता बढ्दो छ । यसलाई पूरा गर्न म सबैलाई नियमित रक्तदान गर्ने बानी बसाल्न आग्रह गर्दछु ।’

रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्दै मेयर दाहालले रगतको बढ्दो आवश्यकतालाई पूरा गर्न भरतपुरले विशेष भूमिका खेल्नुपर्ने बताउनु भयो । रगत मानव जीवनको अभिन्न पक्ष भएको बताउँदै उहाँले भरतपुर महानगरपालिकाले रक्तदानलाई उत्प्रेरित गर्न विभिन्न निकाय तथा संघसंस्थाहरुलाई सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताउनु भयो । भरतपुर महानगरपालिका, स्वास्थ्य महाशाखा नेपाल रेडक्रस सोसाईटी भरतपुरको सहकार्यमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष तथा चितवन महोत्सव आयोजक मूल समारोह समितिका संयोजक सहनलाल प्रधान लगायत एक सय जनाभन्दा बढीले रक्तदान गरेका थिए । कार्यक्रम चितवन महोत्सव स्वास्थ्य समितिका संयोजक शिरिष पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो ।