आजदेखि प्रिपेड र पोस्टपेड फोरजी मोबाइलमा टेलिकमको ‘भीओएलटीई’ सेवा

86

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सोमबारदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु गरेकाे छ । कम्पनीले विश्व दूरसञ्चार तथा इन्फरमेसन सोसाइटी दिवसको अवसर पारेर नेपालमै पहिलो पटक यस्तो सेवा सुरूवात गरेकाे हाे ।

कम्पनीले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधिअन्तर्गत यस्ताे सेवा सञ्चालनमा ल्याएकाे जनाएकाे छ । यो सेवा कम्पनीका प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा परीक्षणको रुपमा सुरूवात भएकाे हो ।

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस, डायल गर्ना साथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिने कम्पनीले जनाएको छ ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीसँग भीओएलटीई सपोर्ट गर्ने मोबाइल सेट हुन जरुरी छ । प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशन अनुसार यो सेवा एक्टिभ गराउन सक्नेछन्। यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्ने हुन्छ । त्यसलगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।

ntc voice hd volte

त्यसपछि *111# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईंको मोबाइलबाट यो अङ्क डायल हुन्छ भने सोच्नुहोस्, तपाईंको मोबाइलमा टेलिकमको यो नयाँ सेवा चलाउन सकिन्छ ।

अन्यथा (भीओएलटीई सपोर्ट नगर्ने अवस्थामा) यो नम्बरमा तपाईंले डायल गर्न सक्नुहुन्न । नेपाल टेलिकमले यो सेवा प्रयोग गर्ने ग्राहकलाई आफ्नो नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी एक पटकका लागि १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा निःशुल्क उपलब्ध गराउने छ ।

No description available.