रातो मच्छिन्द्रनाथको रथ भत्काउन थालियो

60

काठमाण्डाै | ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम थालिएको छ । बुधवार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्गमती लगिएपछि हिजोबाट रथ भत्काउने काम थालिएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनुभयो।

विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमती लगेपछि जावलाखेलमा रथ भत्काउने गरिन्थ्यो । तर यसपालि पनि गएको वर्षमाझैँ कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण रथजात्रा छोट्याएसँगै  पुल्चोकमा रथ भत्काउने काम थालिएको हो ।

रथ निमार्णका लागि तिथिको आधार लिएर बनाउनु पर्ने समयसीमा भए पनि रथ भत्काउन त्यस्तो समयसीमा नभएको बाराहीले बताउनुभयो । बाराही समुदायले रथमा राखिएको सुनको फूल र नाग निकालेपछि मात्र रथको विभिन्न भागबाट काठ निकाल्ने काम हुन्छ ।

यसरी रथ भत्काएर आएको धमा भनिने लामो काठ पुल्चोकमा रहेको धमापाटीमा राखिन्छ भने चार विशाल पाङ्ग्रा जावलाखेलमा रहेको पाटीमा राखिन्छ । जुन अर्को वर्ष रथ बनाउन प्रयोग गरिन्छ । त्यस्तै रथ बनाउन प्रयोग गरिएका विभिन्न काठ, बेत र डोरी केही गुठि संस्थानले राख्छ भने केही केही रथको काठ निकाल्न खटेका गुठियारलाई ज्याला बापत दिइन्छ । युवा समुदाय र बुङ्गमतीका स्थानीयहरुले रथबाट काठ छुट्याउने कामको आधा-आधा जिम्मेवारी लिएका हुन्छन् ।

यसैबीच मीननाथको रथ भत्काउने काम पाटनको तङ्गलमा हुनेछ ।