जनप्रतिनिधि र अधिकारकर्मीले भेटे सुजिताको परिवारलाई

89

रत्ननगर । पूर्वी चितवनका महिला जनप्रतिनिधि तथा अधिकारकर्मीहरु महिलाहरुले राप्तीकी सुजिता भण्डारीको परिवारलाई भेट गरेका छन् । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,खैरहनीकी उपमेयर सुनिता थपलिया सहित जनप्रतिनिधि तथा अधिकारकर्मी महिलाहरुले सुजिताका बुवा,आमालाई भेट गरी समवेदना प्रकट गर्दै सुजिताको न्यायको लागि लड्ने प्रतिबद्धता जनाएका छन् ।

सुजिता बेपत्ता भएको १० दिनपछि राप्ती ३ को जयश्री ब्रह्मस्थानी सामुदायिक वनमा सब भेटिएको थियो । सुजिताको हत्या भएको भन्दै अधिकारकर्मीहरुले निष्पक्ष छानवीन गरी हत्यारालाई कारबाहीको माग गरिरहेका छन् । सुजिताको घरमै पुगेका जनप्रतिनिधि तथा अधिकारकर्मीहरुले दुखमा आफुहरु पनि साथमा रहेको भन्दै सुजिताको न्यायको लागि पहल र दोषीलाई कारबाहीको लागि दवाव दिने प्रतिबद्धता जनाएको रत्ननगरकी कार्यपालिका सदस्य सरस्वती लामाले जानकारी दिइन ।

रत्ननगर मेलमिलाप केन्द्रकी अध्यक्ष लक्ष्मी चौधरी, सचिव रिता थापा,महिला अधिकारकर्मी ज्वाल पुरी वन,महिला नेतृ महादेवी खतिवडा,राप्तीकी कार्यपालिका सदस्य पुष्पा कुँवर,शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पार्वती न्यौपाने,शक्तिशाली आमा समुहकी अध्यक्ष विरञ्जना घिमिरे,संगिता खनाल,पार्वती घिमिरे लगायतको टोली सुजिताको घरमा पुगेको हो ।