रत्ननगरका अपाङ्गता र विपन्न महिलालाई आर्थिक सहयोग

211

चितवन । रत्ननगरका अपाङगता भएका व्यक्ति तथा विपन्न महिलाहरुलाई आयआर्जनको लागि अनुदान स्वरुप आर्थिक सहयोग गरिएको छ । रत्ननगर नगरपालिकाले अपाङगता लक्षित कार्यक्रम अन्तर्गत १७ जनालाई र महिला लक्षित कार्यक्रम अन्तर्गत ३२ जना महिलालाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

अपाङगता भएका व्यक्तिलाई जनही १० हजार र विपन्न महिलाहरुलाई कुटानी पिसानी व्यवसाय गरेका लागि जनही २५ हजार र अन्यलाई २० हजार रुपैया प्रदान गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन । आयआर्जनका लागि व्यवसाय गरिरहेका र गर्न चाहनेहरुको पहिचान गरी आर्थिक सहयोग गरिएको उनको भनाई छ । आइतवार आयोजित कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडीले रकम हस्तान्तरण गरेका थिए ।

सो अबसरमा मेयर वनले गरिवी निवारण तथा उद्यमी बनाउन अपाङगता तथा विपन्न महिलाहरुलाई आर्थिक सहयोग गरिएको बताए । गरिवी निवारणकै लागि मेयर संग उद्यमशिलता कार्यक्रम सुरु गरिएको भन्दै उनले सीप र जाँगर भएका तर धितो र पैसा नभएका युवाहरुलाई विना धितो,विना व्याज कर्जा प्रदान गरिने बताए ।

उपमेयर दुवाडीले बीउ पुँजिको रुपमा नगरपालिकाले अपाङगता भएका र विपन्न महिलाहरुलाई आर्थिक सहयोग गरेको भन्दै सही सदुपयोग गर्न आग्रह गरिन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,सामाजिक विकास समितिका संयोजक केशव आचार्य लगायतले मन्तव्य राखेका थिए । सहायक महिला विकास निरीक्षक जयन्ती रानाभाटले सञ्चालन गरेको सो कार्यक्रममा महिला विकास निरीक्षक रञ्जना पौडेलले व्यवस्थापनको काम गरेकी थिइन ।