सुजिता मृत्यु प्रकरण : आफ्नै दाईसँग प्रेम सम्बन्ध,दाजु बहिनीबीच विहे सम्मको तयारी

284

चितवन । चितवनको राप्तीकी सुजिता भण्डारी मृत्यु प्रकरणमा चितवन प्रहरीले उनकै ठुलो बुवाको छोरालाई पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मेलन गरी मृतक सुजिताको ठुलबाबाको छोरा सुकदेव भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सुजिता मृत्यु प्रकरणका अनुसन्धान अधिकृत डिसएपी इन्द्रबहादुर रानाले आत्महत्या दुरुत्साहन मुद्दामा सुजिताको दाईलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई काठमाडौंबाट हिजो बिहीबार पक्राउ गरिएको हो । सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले ६ गते जिल्ला प्रहरी कार्यालयमा सुकदेवको नाम किटान गरेर मुद्दा दर्ता गरेकी थिइन् । सुकदेव विरुद्ध ज्यान सम्बन्धी कसुर अन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।

२३ वर्षीय सुकदेव र सुजिताबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने सम्मको तयारी भएको खुलेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । उनीहरु विदेशमा पुगेर विहे गर्ने सोचमा रहेको र असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईबीचमा विवाद सृजना भएको डिएसपी रानाले बताए ।
विवाद भएपछि असार ११ गते सुजिता बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएको दश दिनपछि असार २० गते घर नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुजिता बेपात्ता भएको दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको भनेर सुजिताले आफूलाई बताएको दिदी कविताले बताउँदै आएकी छिन् ।