रत्ननगर अस्पताल र प्रतिष्ठानबीच सम्झौता : चिकित्सा शिक्षा अध्ययन हुने

925

चितवन ०९ साउन   । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालबीचमा स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रष्ठिानका तर्फबाट उपकुलपति डा. विश्वराज जोशी र रेक्टर डा. सतिश देव तथा अस्पतालका तर्फबाट अध्यक्ष गोपाल कर्माचार्य र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले शुक्रबार हस्ताक्षर गरेका छन् । रत्ननगरका मेयर नारायण वन,उपमेयर विमला दुवाडी र अस्पतालका पूर्व अध्यक्ष देबेन्द्र कुमार श्रेष्ठको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।


सो अबसरमा अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यले प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन पछि रत्ननगर अस्पताल मेडिकल कलेजका रुपमा स्थापित हुने बताए । हाम्रो अस्पताल स्याटलाई शिक्षण संस्थाको रुपमा कार्यान्वय सुरु भयो उनले भने अब अस्पताललाई जिल्लाकै अब्बल बनाउने छौं ।
सम्झौता अनुसार प्रदेश सरकार मातहतमा रहेको ५० बेड क्षमताको अस्पतालले स्नातक तथा स्नातकोत्तर तहका स्वास्थ्य शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ । बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममै प्रदेश मातहतका अस्पतालमा प्रतिष्ठान मार्फत स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै लैजाने उल्लेख छ ।
अर्को वर्षबाटै एमडीजीपीका कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने दुई वर्षमा बीएन, बीएसी नर्सिङ, बीएमएलटी कार्यक्रम सञ्चालन हुने मेसु डा. बगालेले बताए ।
‘हामी २÷३ महिनामै १०० बेड क्षमताका जान्छौं, सबै तयारी पूरा भएको छ,’ मेसु डा. बगालेले भने, ‘अस्पतालमा केही महिनामै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा आउँदैछ । १० बेडको आईसीयू, ५ बेडको एनआईसीयू, १० बेडको पोष्टअप, २ वटा मोडुलर अप्रेशन कक्ष, केही क्याबिन र प्रसूति कक्ष थप्ने काम जारी छ ।’
२०६५ सालमा सञ्चालनमा आएको सो अस्पताललाई प्रदेश सरकारले २०७७ सालको फागुनमा ५० बेडको स्विकृति प्रदान गरेको थियो । ११ जना विशेषज्ञ डाक्टर रहेको सो अस्पतालमा हाल दैनिक ७०० विरामीको उपचार हुँदै आएको छ ।