सौराहामा पर्यटकका लागि हात्ती सफारी खुल्यो

286

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा फेरि ३ महिनापछि हात्ती सफारी सुरु भएको छ । कोरोना भाइरसको दोश्रो महामारीसँगै बन्द गरिएको चितवन राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रमा पर्ने वनहरुमा फेरि ३ महिनापछि पर्यटक प्रवेश गर्न थालेका हुन्।यसअघि पहिलो लहरमा ६ महिनापछि असोजमहिनादेखि हात्ती सफारी सञ्चालनमा आएको थियो ।
स्वास्थय मापदण्ड पालन गराउदै यहाँ हात्तीसगैँ डुंगा सयर र अन्य गतिविधि समेत करिब तीन महिनापछि खुल्ला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । कोरोनाको दोश्रो लहरसगैँ वैशाख १६ गतेदेखि सौराहाको सफारी बन्द भएको थियो । सौराहा पुग्ने पर्यटकहरु हात्ती, जीप तथा डुंगामा चढेर निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वन घुम्ने गर्दछन्।

चितवन निकुञ्जभित्र पाइने दुर्लभ एक सिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीलगायतका वन्यजन्तुहरुले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यहाँ आउने ९० प्रतिशत पर्यटक हात्तीका गतिविधिमा सहभागी हुने गरेको पर्यटन व्यवसायीहरु बताउँछन्।

चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङ निकुञ्जले प्रवेशको अनुमति दिएसँगै पर्यटकीय चहलपहल बढ्ने आशा पलाएको बताउँछन्।

उनले पर्यटकको मागअनुसारको हात्ती, बाघमारा वन भएर बग्ने बूढीराप्ती नदीमा डुङ्गा तयारी अवस्थामा रहेको बताए। कुमरोज सामुदायिक वनले पनि हात्ती, जीप सफारी सुरु गरेको छ। वनभित्र रहेको मचानहरु पनि पर्यटकका लागि खुल्ला गरिएको कुमरोज वन अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए।

क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दिपक भट्टराईले यहाँ होटलहरु सञ्चालनमा आएपनि पर्यटक फाट्ट–फुट्टमात्रै आएको बताए । ‘सौराहामा अहिले करिब एक सयको हाराहारीमा दैनिक पर्यटक आएका छन् । सामुदायिक वनहरुमा सफारी खुलेसँगै पर्यटकको संख्या बढ्ने अनुमान गरेका छौँ’ क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘सौराहा खुलेको १२ दिनसम्म त्यति सन्तोष गर्ने ठाउँ भेटिएन ।’

‘मध्यवर्ती सामुदायिक वनमा प्रवेशका लागि खुल्ला गरिएपछि पर्यटक बढ्ने आशा पलाएको छ’, उनले भने, ‘अब फेरि बन्द भएन भने चहलपहल बढ्दै जान्छ।’ सफारी सञ्चालन भएसंगै सौराहामा आन्तरिक पर्यटकको संख्या बढ्ने अनुमान व्यवसायीको छ ।