चितवनको राप्तीमा रडले हानेर छिमेकीको हत्या,हत्या आरोपमा एक जना पक्राउ

240

चितवन, २ असोज । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । घटनापछि स्थानीय प्रहरीबीच झडप समेत भएको हो ।

घटनामा परी मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं. ९ शितलपानीका ५९ वर्षिय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार छिमेकी ५० वर्षिय दशरथ मल्लले शुक्रबार राती ९ः४५ बजे बाटोमा हिडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसईबिका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ ।

घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्याँस प्रहार गर्नु परेको उहाँले जानकारी दिनुभयो । सोही क्रममा झडप हुँदा प्रहरी निरीक्षक रोशन खड्का सहित पाँच जना प्रहरी र दुई जना स्थानीय घाईते भएको उहाँले जानकारी दिनुभयो ।

खड्काको आँखामा चोट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । राती नै अभियुक्त मल्ल र शव भरतपुर ल्याईएको छ ।