पञ्चतारा साकोसको बार्षिक साधारण सभा उद्घाटन

285

रत्ननगर । रत्ननगर ७ स्थित पञ्चतारा महिला बचत तथा ऋण सहकारी संस्थाको २० औं बार्षिक साधारण सभा शनिवार उद्घाटन गरिएको छ । संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष कृष्ण महतोले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा संस्थाको विभिन्न प्रतिबेदन तथा संस्थामा उत्कृष्ट कारोवारीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा संस्थाकी सचिव जमुना सापकोटाले बार्षिक प्रगति प्रतिबेदन सहित आर्थिक बर्ष २०७८÷७९ को लागि भावि कार्ययोजना,कोषाध्यक्ष सरस्वती थपलियाले आर्थिक प्रतिवेदन तथा लेखा समितिकी संयोजक हुमकुमारी महतोले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

कार्यक्रममा उत्कृष्ट ऋण कारोवार गर्ने ७ जना,उत्कृष्ट शेयर कारोवार गर्ने ३ जना,उत्कृष्ट बचत कर्ता ३ जना,उत्कृष्ट समुह ३ वटा,शेयर सदस्य बृद्धि तर्फ २ जना,उत्कृष्ट बाल बचतकर्ता ३ जनालाई पुरस्कृत गरिएको संस्थाकी व्यवस्थापक र्सिजना भट्टले जानकारी दिइन । २३ करोड ८४ लाख कुल पुँजि रहेको सो सहकारीको शेयर पुँजी २ करोड ४ लाख रहेको छ । २० करोड ऋण लगानी गरेको सो सहकारीले एक बर्षमा ४० लाख २३ हजार रुपैया नाफा गर्न सफल भएको छ । आर्थिक बर्ष २०७७÷७८ मा २ करोड ३३ लाख आम्दानी गरेको र १ करोड ८२ लाख खर्च कटाएर ४० लाख २३ हजार नाफा गर्न सफल भएको व्यवस्थापक भट्टले जानकारी दिइन ।

सो सहकारीमा २ हजार ३६४ शेयर सदस्य र १ हजार ४०० बाल बचतकर्ता रहेका छन् । संस्थाकी अध्यक्ष सानुमाया थापामगरले कमजोर आर्थिक अबस्थाका भएका महिलाहरुको आर्थिक विकासलाई प्राथमिकता दिएर संस्थाले लगानी गर्दै आएको बताइन । संस्थाकी अध्यक्ष थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला कँडेलले स्वागत मन्तव्य राखेकी थिइन । शनिवार उद्घाटन भएको सो संस्थाको साधारण सभा सोमबार समापन हुने अध्यक्ष थापामगरले जानकारी दिइन ।