रत्ननगर उबासंघको साधारण सभा,तीन महत्वूर्ण प्रतिवेदन पारित

220

चितवन १८ असोज । रत्ननगर उद्योग बाणिज्य संघको २२ औं बार्षिक साधारण सभा सोमवार गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले साधारण सभा उद्घाटन गरेका हुन । सो अबसरमा उनले विकासमा राजनीति गरिएका कारण देश पछाडि परेको बताए ।

देश बनाउन सक्ने ठाउँमा छ उनले भने त्यसका लागि नेताहरुको इच्छाशक्ति चाहिन्छ । स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने हो भने नेपाल केही बर्ष भित्र विकसित मुलुकको सुचीमा पर्ने बताए । स्वास्थ्यको विकासका लागि चिकित्सा क्षेत्र तथा सेवा सुधार तथा शिक्षाको विकासको लागि शैक्षिक गुणस्तरलाई जोड दिनुपर्ने बताए । निजी विद्यालयलाई धारे हात लगाएर शैक्षिक सुधार नहुने भन्दै उपाध्यक्ष पौडेलले सरकारी विद्यालयको स्तर उन्नती र शिक्षण सिकाइलाई प्रभावकारी बनाउनु पर्ने बताए ।

उपाध्यक्ष पौडेलले रत्ननगर अस्पताललाई २०० शैय्याको बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । प्रदेशले स्तर उन्नती गरेर बजेट नदिएको गुनासो आएको भन्दै उनले यही त्यसो हो भने सरकारको गैर जिम्मेवारीपन हो । अस्पताललाई सम्मान खाने ठाउँको रुपमा नलिन मन्त्रीहरुलाई आग्रह गर्दै गरिब र धनी दुबै बर्गले सेवा लिने गरी अस्पतालको विकास गर्न आग्रह गरे । साधारण सभामा महासचिव निराजन खनालले बार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष उपेन्द्रशर्मा आचार्यले आर्थिक प्रतिवेदन तथा उपाध्यक्ष रघुनाथ भट्टले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उल्लेखित तीन वटा प्रतिवेदन पारित भएको छ । संस्थाका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश साँसद कन्चन खनाल,जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी,रत्ननगरका मेयर नारायण वन,प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सहनलाल प्रधान,बागमती प्रदेश समितिका अध्यक्ष दिलसुन्दर श्रेष्ठ,चितवन उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ,चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी,रत्ननगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष हरिशरण पाठक,बरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायतले मन्तव्य राखेका थिए ।