सौराहामा पर्यटक बढे,८० प्रतिशत होटल भरिए

93

चितवन । चितवनको सौराहा पर्यटक आगमन बृद्धि भएको छ । यहाँका ८० प्रतिशत होटलहरु पर्यटकले भरिएका छन् । कोरोना भाईरसका कारण थलिएको पर्यटन व्यवसाय संक्रमण दर घट्न थालेसँगै पर्यटकहरुको चहलपहल बढेको हो । सौराहामा पर्यटक बढ्नुको अर्को कारण बडादसैं पनि हो ।

कोरोना भाईरस घट्दै जानु र चाडवाडका कारण पनि चितवनको सौरहामा पर्यटकहरु बृद्धि भएको व्यवसायीहरुले बताएका छन् । नेपालीहरुको महान चाड दशैंका बेला सौरहाका ७० देखि ८० प्रतिशत होटलहरु भरिएको क्षेत्रीय होटल संघ सौरहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो ।

लामो समयसम्म बन्द रहेका होटलहरु अहिले सबैजसो संचालनमा आएका छन् । सौरहामा पर्यटक बृद्धि भएपछि होटल रेष्टुरेण्टहरु चल्नुका साथै हात्ती सफारी जीप सफारी जाने पर्यटकहरुको पनि घुँईचो लाग्ने गरेको छ ।

सौरहामा हाल दैनिक करीब २ सयको हाराहारीमा पर्यटकहरु हात्ती सफारीमा जाने गरेका छन् । चितवनमा हाल अमेरीका, ब्रिटेन, चीन, भारतलगायतका देशबाट समेत पर्यटकहरु आउन थालेको व्यवसायीहरुको भनाइ छ । कोरोना भाईरसले नराम्रोसँग थला परेको पर्यटन व्यवसायमा चितवनमा देखिएको पर्यटकको चहलपहलले केही आशा पलाएको छ ।