चितवनमा पोलियो रोग विरुद्ध सचेतना मुलक र्‍याली हुने

32

चितवन । चितवनमा यही ६ र ७ गते पोलियो रोगविरुद्ध सचेतना मुलक साइकल तथा मोटर र्‍याली आयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल तथा मोटल र्‍याली हुन लागेको हो । साइकल र्‍याली पहिलो दिन नारायणगढको उद्योग वाणिज्य संघ परिसरबाट सौराहासम्म हुने जनाइएको छ ।

पहिलो दिन साइकल र्‍याली र दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर र्‍याली हुने कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिनुभयो । मोटर र्‍यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा परेवा उडाउने छ । र्‍याली गैँडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको सो संघका सभाहलमा आएर कार्यक्रममा परिणत हुनेछ । र्‍यालीका लागि टि सर्ट सहयोग एक्सपट एजुकेशन एण्ड भिजा सर्भिसले गरेको छ ।

सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएका बताइएको छ ।