आज लक्ष्मीपूजा, घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरेर मनाइँदै

175

काठमाडौं । आज बिहीबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । तिथी घटबढका कारण हिजो बुधबार काग र कुकुर पूजा एकैदिन गरियो । कात्तिक कृष्ण औंशीका दिन ‘धन सम्पतिले भरिपूर्ण होस’ भन्ने कामना सहित धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरिने परम्परा छ । औंशीलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालो प्रकाशले आलोकित पार्ने कार्य घरघरा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ ।

यसभित्र कुनै पनि किसिमको अन्धकार आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसैदिन पनि कसैकसैले लक्ष्मीपूजा पनि गर्ने गर्छन् । भगवान् रामचन्द्रले लोककल्याण भावनाले रावणादी विविध असुरको नाश गरेपछि कात्तिक कृष्ण औंशीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसियालीमा अयोध्यावासीले दीपावली गरेको प्रसंग छ ।

यमराजले यमपञ्चकका पाँच दिन बहिनी यमुनाकहाँ बसेका कारण ‘यसदिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने’ विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएकोले यो दिनको ठूलो महत्व रहेको तथ्य स्पष्ट हुन्छ । सुख सम्पति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्ने धार्मिक परम्परा छ ।

आज बिहीबारै साँझ भैलो पनि खेलिँदै छ । भैलो खेल्न घरआँगनमा आएकालाई सेलरोटी र दक्षिणा सहित बिदा गरिन्छ । दीपावलीमा ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाश तर्फ लागि ‘आफूलाई आत्मिक रूपमा सुख सन्तोष प्रदान गर’ भनेर यो दिन चेलीबेटी भैलो खेलेर रमाइलो गर्छन् । वर्षका चार महत्वपूर्ण मध्ये लक्ष्मीपूजाको रातलाई ‘सुखरात्रि’ भनिन्छ । यसदिन स्त्री जाति विशेषगरी कुमारी केटीले घरघरै गई भैलो खेल्ने चलन छ ।

साँझ घरको सरसफाई गरी मुलढोका देखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अध्यारोमा लक्ष्मीको बास नहुने मान्यता अनुसार घरघरमा दीपावली गरिन्छ । ‘बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन’ भन्ने भनाइ छ । सबैतिर सफा राखी आँगन, दैलो, सँघार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भ¥याङमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई ‘दीपावली’ भनिएको हो ।

झिलिमीली पार्न विद्युतीय बत्ती, मैनबत्ती, दियोमा बत्ति तथा पाला र केराका सुत्लामा तेलमा भिजाएको कपास प्रयोग गरिन्छ । गाँउघरमा अहिले पनि आँगन, पिँढीमा गाईको गोबर र रातो माटोले लिपेर सफा बनाउने गरिन्छ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री–लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ । दीपावलीपछि घरको पूजाकोठामा आफूसँग भएका सुनचाँदीका गरगहना, नगद रोटी र फलफूल राखेर फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गरिने परम्परा छ ।

यसदिन घरमा लक्ष्मीको बास भए वर्षभर आथिर्क संकट नपर्ने जनविश्वास छ । लक्ष्मीपूजाका दिन बिहानै पूजा कोठा, पसल, उद्योग लगायतमा सरसफाई गरी फूलको माला लगाइदिने चलन छ । लक्ष्मी पूजाको रातलाई ‘सुखरात्रि’ पनि भन्ने गरिन्छ । घरघरमा लक्ष्मी पूजा गरिसकेपछि समूह बनाएर घरघरमा भैलो खेल्न हिँड्ने गरिन्छ । सत्ययुगमा ‘वामनड अवतार विष्णुले ‘तीन पाउ भूमि’ माग्दा दानवराज बलीले भगवानलाई सन्तुष्ट पारेर दानवीरको अनुपम उदाहरण प्रस्तुत गरेको पुराणमा छ ।
युवती समूहले ‘हरियो गोबरले लिपेको’ र पुरुषहरूले ‘भैलीराम’ भनेर भैली खेल्ने गर्छन् । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्ध अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान, सुपारी, फूल दिने चलन छ । यसदिन ‘टीका नलगाई केही खानु हुँदैन’ भन्ने विश्वास छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान, विभिषण, परशुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा(मीठा परिकारे आवश्यक पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेश पूजा गरी बिमिरा पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ।

मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधैं हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायु कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिँदा ‘शान्ति बर्सिन्छ’ भन्ने मान्यता छ । तिहारमा लगाइने टीका पहेंलो, निलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो रंगको गरी सात रंगका हुन्छन् । दाजुभाइप्रतिको प्रेम रंग जस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदानप्रदान गरिन्छ ।