काँग्रेस महाधिवेशन प्रतिनिधि परियारद्धारा विपन्न विद्यार्थीलाई पोसाक वितरण

11

चितवन । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा समाजसेवी शेरबहादुर परियारले राप्ती नगरपालिकाका तीन सामुदायिक विद्यालयका गरिव तथा विपन्न समुदायका विद्यार्थीहरुलाई सोमवार पोसाक वितरण गरेका छन् ।

ग्रिन सोसाइटी नेपालका उपाध्यक्ष समेत रहेका परियारले ६५० विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरेका हुन । वडा नं १२ यौरालीटारमा रहेको गणेश माध्यमिक विद्यालयका ४५०,सोही वडामा रहेको राष्ट्रिय प्राथमिक विद्यालय डिहिटारका ९० र वडा नं ५ भण्डारामा रहेको शिखर राष्ट्रिय आधारभूत विद्यालयका १५० जना विद्यार्थीहरुलाई ट्याकसुट वितरण गरिएको ग्रिन सोसाइटी पब्लिक स्कुलका प्राचार्य शिरलाल परियारले जानकारी दिए ।

पोसाक हस्तान्तरण कार्यक्रममा महाधिवेशन प्रतिनिधि परियारले आर्थिक अभावका कारण शिक्षाबाट बन्चित हुन नपरोस भनेर विपन्न समुदायका विद्यार्थीहरुलाई सहयोग गरिएको बताए । सीमान्तकृत,गरिब,विपन्न तथा दलीत समुदायका विद्यार्थीहरुको शिक्षाको लागि आफुले शैक्षिक सहयोग गर्दै आएको भन्दै विभेद्को अन्त्यका लागि पनि शिक्षा आवश्यक रहेको बताए । शिक्षाले गरिवी र विभेदका अन्त्य गर्ने भन्दै उनले आफु सोही अभियानमा रहेको उल्लेख गरे ।

कार्यक्रममा राप्तीका उपमेयर देवेन्द्र लामाले चेपाङ वालवालिकाको शिक्षाको लागि नगरपालिकाले छात्राबास सञ्चालनको तयारी गरेको बताए । कार्यक्रममा विदेशी नागरिक रिकी महाबीरले शिखर राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ६ महिनाको लागि स्टेशनरी तथा कांग्रेसका महासमिति सदस्य राजेन्द्र बुर्लाकोटीले विद्यार्थीहरुलाई टाइ र बेल्ड प्रदान गर्ने घोषणा गरेका छन् ।

पोसाक हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति किरण भूषण सिंह ओली, प्रदेश समिति सदस्य प्रज्वल दुवाडी,नेपाली काँग्रेस राप्ती नगर समितिकी कार्यबहाक सभापति अनिता खरेल,सामाजिक अभियान्ता शान्तामणि नहर्की लगायतको सहभागिता रहेको थियो ।