काठमाडौँ, २० माघ – गुण्डा नाइके राजु भन्ने राजेन्द्र गोर्खाली बानेश्वरबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कांग्रेस निकट रहेका गोर्खालीलाई आइतबार दिउँसो नयाँ बानेश्वर चोकबाट पक्राउ गरेको हो ।महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । एसपी राठौरको टोली विगत दुई हप्तादेखि गोर्खालीको खोजीमा थियो ।
सुन्धारास्थित काठमाण्डुमलका व्यापारीलाई धम्काएर जबर्जस्ती रकम असुली गरेको उजुरी परेपछि महाशाखाले उनलाई नियन्त्रणमा लिएको हो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाण्डु मल गोर्खालीको समूहले वर्षौंदेखि भाडामा लिएर अन्य व्यापारीलाई भाडामा दिने गरेको थियो । सो समूहले कोषलाई कम भाडा दिएर व्यापारीहरुसँग चर्को रकम असुल्दै आएको थियो । गुण्डागर्दी शैलीमा मलका व्यापारीलाई आतंकित पार्दै जबर्जस्ती रकम असुली गरेको जाहेरी परेकोले गोर्खालीलाई पक्राउ गरी हिरासतमा लिइएको महाशाखाका एसपी राठौर जानकारी दिए ।