मृगकुञ्जद्धारा तामाङको परिवारलाई आर्थिक सहयोग

535

रत्ननगर । गैंडाको आक्रमणमा परी ज्यान गुमाएका रत्ननगर ९ लालपर्सा निवासी चन्द्रबहादुर तामाङको परिवारलाई सोमबार आर्थिक सहयोग गरिएको छ । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति बछौलीले काजक्रियाखर्च स्वरुप २५ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले तामाङको परिवारका सदस्य सख्तबहादुर लामालाई २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए । तामाङको परिवारलाई आर्थिक सहयोग गर्न समितिका अध्यक्ष घिमिरे सहित उपाध्यक्ष हठन महतो, सदस्यहरु बुद्धिमान विक, सरस्वती लामा, विष्णु महतो र कार्यालय सचिव यौवनकुमार पराजुली निवासमा पुगेका थिए ।

सो उपभोक्ता समितिले मध्यवर्ती क्षेत्र भित्र वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई काजक्रिया खर्च स्वरुप २५ हजार रुपैया उपलब्ध गराउदै आएको छ । समितिका अध्यक्ष घिमिरेले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई नेपाल सरकारले १० लाख रुपैया क्षतिपूर्ति राहत उपलब्ध गराउदै आएको बताए ।

तामाङको परिवारलाई सरकारबाट पाउने रकम उपलब्धताको लागि कागजी लगायत अन्य प्रक्रियामा मृगकुञ्जले सहयोगीको भूमिका निभाउने घिमिरेले बताए । फागुन ९ गते विहान ४ बजे लालपर्सामा गैंडाको आक्रमण गर्दा तामाङको ज्यान गएको थियो ।