सन्दीप लामिछाने र सीता राना मगर वर्षको उत्कृष्ट खेलाडी

314

काठमाण्डौं २२ फागुन । सन्दीप लामिछाने र सीता राना मगर यस वर्षको उत्कृष्ट क्रिकेट खेलाडी घोषित भएका छन्। नेपाल क्रिकेट खेलाडी संघ सिप्यानले मंगलबार राजधानीमा आयोजना गरेको एनसिसिएस सिप्यान क्रिकेट अवार्ड २०१८।–१९ मा सन्दीपले पुरूषतर्फ वर्ष खेलाडीको उपाधि जित्दा सीताले महिला विधामा उपाधि जितेकी हुन्। सन्दीपले यो अवार्डमा राष्ट्रिय टिमका कप्तान पारस खड्का, दिपेन्द्र ऐरी, सोमपाल कामी र करण केसीलाई उछिनेका हुन्। वर्ष २०१८–१९ मा सन्दीपले नेपालका लागि खेलेका सबैखाले क्रिकेटमा गरी कूल ८४ विकेट लिएका थिए। यो वर्षमा राष्ट्रिय टोलीबाट ३२ खेल खेलेका सन्दीपले ८४ विकेट हात पारेका हुन्। उनले वान डे खेलमा ५५ विकेट र १० टि २० खेलमा २९ विकेट हात पारेका छन् । डिभिजन २ मा सन्दीपले नामिबियाविरुद्ध ४ र केन्याविरुद्ध ५ विकेट लिएका थिए । विश्वकप छनोटमा पनि उनले पपुवा न्यू गिनीविरुद्ध ४ तथा हङकङविरुद्ध ३ विकेट लिएका थिए । यूएईविरुद्ध ओडीआई सिरिजमा ७ विकेट लिएका सन्दीपले त्यसअघि एसिया कप छनोटमा ५ खेलमा १४ विकेट लिए । टि९२० विश्वकप छनोटमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा २४ विकेट हात पारेका थिए ।यस्तै सीताले कप्तान रूविना क्षेत्री बेलबासेसँगै इन्दु बर्मा, सरिता मगर र करूणा भण्डारीलाई पछि पारेकी हुन्। हालै मात्र थाइल्याण्डमा सम्पन्न टी ट्वान्टी स्म्यासमा उत्कृष्ट प्रदर्शनका आधारमा महिलातर्फको अवार्ड सीताले जितेकी हुन्। सीताले उक्त प्रतियोगितामा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी थिइन् । सर्वाधिक रन बटुलेकी सीताले ६ खेलमा १ सय ३८ रन जोडीन् । उनले १ सय ७५ बलको सामना गर्दै ११ चौका प्रहार गरेकी थिइन् । बलिङतर्फ पनि सीताले ३।४४ को इकोनोमीमा ४ विकेट हात पारिन् । यस्तै रोहित कुमार पौडेलले उदयीमान वर्ष खेलाडीको उपाधि जितेका छन्। उनले ललितनारायण राजबंशी, सन्दीप जोरा, अभिनास बोहोरासँगै कविता कुँवरलाई पछि पारेका हुन्। गत वर्ष डिभिजन टू बाटै राष्ट्रिय टिममा स्थान बनाएका उनले युएई विरुद्ध नेपालले पहिलो ओडिआई सिरिज जित्दा विश्वकै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए। यसअघि उनले सबैभन्दा कम उमेरमा एक दिवसीयमा डेब्यू गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका थिए। यस्तै कार्यक्रममा नेपालमा क्रिकेटका पुराना खेलाडी र नेपालमा क्रिकेट विस्तारमा महत्वपूर्ण योगदान दिएका कोमलबहादुर पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानिन गरियो। फुटबलसमेत खेल्ने पाण्डे आफ्नो जमानामा सबै खेल खेल्ने गरेका थिए। यस्तै करण केसीले मोमेन्ट अफ द ईयरको अवार्ड हात पारे। उनले नेपाललाई एक दिवसीय मान्यता दिलाउने निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए। गत वर्ष नामिबियामा भएको डिभिजन टू अन्तर्गत क्यानडा विरुद्धको मोस्ट विन म्याचमा करणले एकल प्रदर्शनमा नेपाललाई १ विकेटको शनसनी जित दिलाएका थिए। वर्षको उत्कृष्ट क्रिकेट खेलाडी पुरूषलाई १ लाख ३२ हजार नगद र अवार्ड दिइएको थियो भने बाँकी सबै विधाका विजयी खेलाडीलाई ६६ हजार नगद पुरस्कार र अवार्ड दिइएको थियो।