सौराहाकी राममायाको प्रशंसा योग्य काम : व्यक्तिगत खर्चमा अनाथलाई शिक्षा

541

रत्ननगर ०१ चैत । रत्ननगर ६ सौराहाकी राममाया लामाले वालगृह सञ्चालन गरी अनाथ वालवालिकालाई शिक्षा दिएकी छन । व्यक्तिगत लगानीमा उनले वालगृह सञ्चालन गरेकी हुन । लामा अधिकारकर्मी महिला हुन । उनको कमाई छैन । श्रीमान विष्णु लामाले कमाएको पैसाले अनाथ वालवालिकाकालाई शिक्षा प्रदान गर्दै आएको लामाले बताइन । सौराहाको हात्तीसार टोलमा उनको अनाथ वालवालिका संरक्षण केन्द्र छ । केन्द्रमा अहिले ११ जना वालवालिका छन । केन्द्रमा आश्रित वालवालिकाहरु कक्षा ५ देखि १२ सम्म अध्ययन गरिरहेका छन । ११ जना नै अभिभावक नभएका अनाथ वालवालिका हुन । राममायाका श्रीमान विष्णु लामा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका सेवा निवित्त कर्मचारी हुन । उनको पेन्सन आउछ । श्रीमानको पेन्सनबाट नै राममायाले वालवालिकालाई शिक्षा प्रदान गर्दैै आएकी छन । केही सहयोग पनि आउछ उनले भनिन् तर नियमित छैन । वालगृहमा सौराहाकै सुकराम चौधरीले चामल सहयोग गर्दै आएका छन । बर्षमा ३० हजार जति विदेशमा रहेका आफ्न्तहरुले सहयोग गर्छन । त्यो पैसा वालवालिकालाई विद्यालयमा भर्ना गर्दा नै सकिन्छ । वालवालिकाको लालनपालन स्टेशनरी,पोसाक,औषधि उपचार तथा घर भाडा तिर्न उनलाई मुश्किल छ । खाद्यान्न बाहेक मासिक ५० हजार भन्दा बढि रकम खर्च हुन्छ उनले भनिन् कतै जोहो भएन भने श्रीमानले कमाएको पैसा खर्च हुन्छ । २०६४ सालमा स्थानीय शान्ता विक,शुशीला कँडेल र राममाया सहित तीन जनाले सो वालगृह सुरु गरेका हुन । अहिले विक र कँडेल सो वालगृहसंग आबद्ध छैनन । विक र कँडेलले छाड्ने भएपछि वालवालिकाको विचल्ली हुन्छ भनेर राममायाले वालगृह एक्लै सञ्चालन गर्ने अठोट गरिन । उनको वालगृह जिल्ला प्रशासनमा दर्ता छ । सो वालगृहबाट प्रदिप तामाङ,सोनाम चौधरी र निसान गुरुङले कक्षा १२ सम्मको पढाई पुरा गरिसकेका छन । उनीहरु अहिले काठमाडौंमा रोजगारी गर्छन । वेला बेलामा आउछन राममायाले भनिन् उनीहरुलाई अब वालगृहले हेर्नुपर्ने अबस्था छैन । काठमाडौंमा बस्ने तीन जनाले आमा खुवाउने औसीमा फलफुल र मिठाई लिएर आउने गरेको राममायाले बताइन । वालगृहमा रहेका ११ जना रत्ननगरका विभिन्न सामुदायिक तथा निजी विद्यालयहरुमा अध्ययन गरिरहेका छन । वालवालिकाको चाहना अनुसार विद्यालयमा भर्ना गर्ने गरेकी छु उनले भनिन् पढाईमा सबै तेजिला छन । सुरुमा साथीहरुको कहरले वालगृह सञ्चालनको लागि तयार भएकी राममायालाई अहिले त्यही बालगृह सञ्चालनमा समस्या भएको छ । वालगृह बन्द गरौ भने वालवालिकाको विचल्ली हुन्छ की भन्ने पिरलो छ ।