बेरोजगार रहेको व्यहोराको निवेदन चैत मसान्त भित्र दिन राप्ती नगरपालिकाको आग्रह

1045

राप्ती, १० चैत । पूर्वी चितवनको राप्ती नगरपालिकाले बेरोजगार युवाहरुलाई रोजगारी उपलब्ध गराउनका लागि प्रत्येक वडा कार्यालयमा आफू बेरोजगार रहेको व्यहोराको निवेदन चैत मसान्त भित्र दिन सुचना जारी गरेको छ । नगरपालिकाले नगरभित्र स्थायी बसोवास भएका १८ देखी ५९ बर्ष उमेर समुहका बेरोजगार ब्यक्तिहरुलाई निवेदनको आह्वान गरेको हो ।

सार्वजनिक सुचना जारी गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाँइले संघीय सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागी वेरोजगार ब्यक्तीहरुलाई सय दिनको काम र भत्ता उपलब्ध गराउन निवेदन आह्वान गर्नुभएको हो । जारी सुचनामा स्थानीय तह माताहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने एक सय दिन बराबरको न्युनतम रोजगारीमा संलग्न भई सार्वजनिक बिकास निर्माणको काममा योगदान गर्न ईच्छुक बेरोजगार ब्यक्तिलाई सम्वन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको छ ।

निवेदन दिने म्याद चैत मसान्त सम्म तोकिएको छ । निवेदन फारम सम्वन्धित वडा कार्यालयवाट उपलब्ध हुने नगरपालिकाले जनाएको छ । अहिलेलाई तथ्याकं एवम् विवरण संकलनको काम हुने र आगामी आर्थिक बर्षवाट कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत हुमागाँइले बताए ।

यी न्युनतम शर्त पालना भएको खण्डमा मात्रै बेरोजगारले निर्वाह भत्ता पाउनेछन् :

क) परिवारको कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा,
(ख) नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारलाई,
(ग) परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा,
(घ) परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा नगएकोमा ।