‘वैशाख ९ गते पार्टीको तल्लो तहको एकता टुँगो लाग्छ’

440

काठमाडौं,२८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले वैशाख ९ गते लेनिन दिवसको दिन पारेर पार्टीको एकता टुंगो लाग्ने बताएका छन् ।  रिपोर्टस क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सापकोटाले पार्टी एकता वैशाख ९ मै टुंगो लागी जिम्मेवारी बाँडफाँड समेत हुने बताएका हुन् ।

उनले एकतामा बिलम्ब नहुनु पर्नेमा समय लागेको बताए । सापकोटाले भने, ‘दलीय व्यवस्थामा दललाई सर्वोपरि भूमिकामा राख्नुपर्नेमा एकीकरण नै नटुंगिएपछि धेरै ठूलो नोक्सान भएको छ। स्थानीय तह सञ्चालनमा, प्रदेश सरकार सञ्चालनमा, केन्द्रीय तह नै सञ्चालन गर्न धेरै गाह्रो परेको छ। किन भने पार्टीको निर्देशनमा सरकार चल्नु पर्ने हो। यसमा अध्यक्षहरूकोे ध्यान पुगेको छैन।’

गत जेठ ३ मा पार्टी एकिकरण भएपनि तल्ला तहको एकता टुंगो लाग्न सकेको छैन । पार्टी एकता टुंगो नलाग्दा नेताहरु जिम्मेवारी विहिन हुँदै गएका छन् भने केहि विवादहरु सिर्जना समेत भएको छ ।

यसैबीच सापकोटाले तारागाउँ रिजेन्सी होटल्स छानविनको क्रममा आफूलाई ठूलो दबाब आएको बताएका छन् । उनले आफुँ कुनै प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारे । सापकोटाले भने, ‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौं । हामीले सरकार र अख्तियारलाई सहयोग पुग्ने गरी नै प्रतिवेदन तयार पारेका छौं ।’ यद्यपि उनले छानबिनको क्रममा सम्बन्धित सरकारी निकायबाट असहयोग भएको बताए ।