माग सम्बोधन नभएको भन्दै पुनर्निर्माणमा खटिएका प्राविधिकले कामकाज ठप्प पारे

272

दोलखा ३० चैत्र । दोलखामा (पुनर्निर्माणमा खटिएका आन्दोलनरत प्राविधिकहरुले आजदेखि सम्पूर्ण कामकाज ठप्प गरेका छन् । ४ बुँदे मागसहित १ महिनादेखि आन्दोलन सुरु गरे पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्बोधन नगरेको भन्दै उनीहरुले पुनर्निर्माण सँग सम्बन्धित सम्पूर्ण कामकाज ठप्प गरेका हुन् । आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पुनर्निर्माण प्राविधिक हकहित जिल्ला स्तरीय संघर्ष समितिका संयोजक पुण्य प्रसाद रिमालले जानकारी दिनुभयो । यसैबीच प्राविधिकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनको कार्यालयमा लगाएको ताला खुलाइएको छ । आन्दोलनस्वरुप प्राविधिकहरुले लगाएको ताला प्रहरीको सहयोगमा खुलाइएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनका प्रमुख इन्जिनियर अर्जुन तामाङले जानकारी दिनुभयो । प्राविधिकहरुले आवास पुनर्निर्माण लाभग्राहीहरुको किस्ता समयमै उपलब्ध गराउनुपर्ने, पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको स्वास्थ्य तथा सुरक्षा बीमा गर्नुपर्ने, प्राविधिकको भविष्यको सुनिश्चितता गरिनुपर्ने र गएका वर्षझैं खाइपाइ आएको प्रोत्साह भत्ता, भौगोलिक भत्ता, सञ्चार र यातयात खर्च मासिकरुपमा उपलब्ध गराउनुपर्ने ४ बुँदे माग गरेका छन् । जिल्ला आयोजना कार्यान्वय इकाइ शिक्षा कार्यालयमा कार्यरत प्राविधिकहरु भने नियमित काममा छन् ।