चितवनको रत्ननगरमा डिजिटल घर नक्सा पास सुरु

2983

चितवन २२ जेठ । चितवनको रत्ननगर नगरपालिकाले नगरवासीहरुको सहजताका लागि डिजिटल घर नक्सापास प्रणालीको सुरुवात गरेको छ । सुचना तथा प्रविधिको क्षेत्रलाई विस्तार गर्ने क्रममा नगरपालिकाले बुधवारदेखी यो सेवाको सुभारम्भ गरेको हो । रत्ननगरका मेयर नारायण वनले सो सेवाको औपचारिक शुभारम्भ गरेका छन । सो अबसरमा मेयर वनले नक्सा पास प्रक्रियालाई सरल, पारदर्शी तथा उत्तरदायी बनाउन डिजिटल घर नक्सापास सुरु गरिएको बताए । उनले सुरक्षित र भूकम्प प्रतिरोधी भवन निर्माण, डिजाइन गर्न, सम्बन्धित घरधनी तथा डिजाइनकर्तालाई नक्सा पासको चरण तथा अवस्थाको बारेमा नियमित जानकारी दिन, डिजाइन तथा डकर्मीको लगत राखी सो सम्बन्धी जानकारी गराउन अनलाइन प्रणाली असाध्यै सहयोगी हुने बताए । परम्परागत रुपबाट नक्सा पास गराउँदा अपारदर्शी आर्थिक कारोबार हुने गरेको भन्ने गुनासो आइरहेको भन्दै मेयर वनले नयाँ प्रणालीले आर्थिक कारोबारलाई पारदर्शी, सरल र सहज बनाउन, नेपाल राष्ट्रिय भवन संहिता तथा भवन निर्माण मापदण्ड पालना गर्न सो प्रणाली सार्थक हुने बताए । यो सेवाले फाईल हराउने समस्या नहुने,तुरुन्त सेवाग्राहीको विवरण हेर्न मिल्ने,नगरपालिका धाउनु पर्ने झन्झट नहुने,कसको कारणले फाईल रोकियो त्यो थाहा पाईने नगरपालिकाका इन्जिनियर नमेश गुरुङले जानकारी दिए । एउटा घर सम्पन्न हुँदा चार पटक सम्म नगरपालिका जानु पर्छ । कन्सल्टेन्सीले अनलाईनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको इन्जिनियरले ठिक भए नभएको जाँच गर्छन् । ठिक भए अमिन हुदै सव ओभरसियरपछि प्रमुख इन्जिनियर समक्ष फाईल पुरयाउनु पर्छ । मेयर वनले रत्ननगरले सुचना प्रविधिको क्षेत्रमा ठुलो लगानी गरेपनि सोचे जस्तो प्रतिफल आउन नसकेको वताए । नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत रवि तिवारीका अनुसार रत्ननगरमा ४२ फिचर समेटिएको मोवाईल एप,फ्रि वाईफाई,अनलाईनबाट घटना दर्ता,अनलाईन वोलपत्र ,डिजिटल हाजिरीको प्रयोग भईसकेको छ । सेवा सुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल,आईटी विज्ञ राम रिमाल,इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्य,रत्ननगर ५ का वडाध्यक्ष कृष्ण महतो लगायतले मन्तव्य राखेका थिए ।