प्रधानमन्त्री ओलीबाट चितवन महोत्सवको उद्घाटन

998

चितवन १५ पुस । नारायणी नदी किनार नारायणगढमा पुस २५ गतेबाट सुरु हुने चितवन महोत्सवको १२ औँ संस्करणको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ । आयोजक चितवन उद्योग बाणिज्य संघका अध्यक्ष तथा महोत्सवका मूल संयोजक सहनलाल प्रधानले महोत्सवको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने निश्चित भएको बताए । उनले महोत्सवको तयारी तीव्ररुपमा भइरहेको बताए । महोत्सवस्थलमा कृत्रिम चिडियाखानाको आकृति तथा मूल गेट सिँगार्नेसम्मका काम भइरहेको संयोजक प्रधानले बताए । महोत्सवको प्रचारप्रसार र फन पार्क निर्माणको काम भइरहेको प्रधानले बताए । महोत्सवमा ६ वटा विशेष स्टल र ५०० वटा स्टल रहनेछन् । यसवर्ष महोत्सवमा कृत्रिम चिडियाखाना थप गरिएको छ । पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ । महोत्सव अवधिभर कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनमा आधारित विभिन्न कार्यशालाहरु हुनेछन् । कुल ५ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।