गुम्बाको भवन निर्माणार्थ शान्ति ज्ञान महायज्ञ गरिने

567

भरतपुर १५ पुस । भरतपुर ११ भोजाडस्थित छेच्यु थर्पलिङ गुम्बाले भवन निर्माणको लागि यही पुस २० गतेदेखि २४ गतेसम्म पाँचदिने प्रज्ञा पारमिता तथा ह्युम वाचन शान्ति ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । गुम्बा भवन निर्माणको लागि आर्थिक संकलनसँगै धर्म तथा संस्कृति संरक्षणको लागि महायज्ञ गर्न लागिएको शनिबार गुम्बा परिसरमै पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । आर्थिक समस्याले भवन निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । गुम्बाका अध्यक्ष पञ्चबहादुर तामाङका अनुसार साढे दुईतले भवन निर्माण गर्ने लक्ष्य छ । २०७२ सालमा आयोजना गरेको रकमबाट भवनको एकतला निर्माण भएको छ । गुम्बाको गुरूयोजनाअनुसार अबको बाँकी काम सम्पन्न गर्नको लागि दुईकरोड रूपैयाँभन्दा बढी रकम आवश्यक छ ।
तर, पछिल्लो समय विश्वमै बढ्दै गएको हिंसात्मक घटना कम गर्नको लागि पनि महायज्ञ आवश्यक भएको संस्थाका सल्लाहकार अजय तामाङले बताए । ‘विश्वमा भइरहेका हत्या, हिंसा, द्वन्द्व र बढ्दो अपराधलाई कम गर्नको लागि पनि यस्ता कार्यक्रम गरिनु आवश्यक छ,’ उनले भने । कार्यक्रममा टुल्कु (अवतारी) लामा गुरू लोसाङ नाम्ग्याल रिन्पोछेमार्फत कथा वाचन हुनेछ । साथै अन्य विभिन्न लामा गुरू गरि २५ जनाभन्दा बढी धर्मगुरूहरूमार्फत दैनिक प्रवचन चल्नेछ । उनका अनुसार १६ ठेली प्रज्ञापारमिताको वाचन हुनेछन् । ‘दान दातव्य र महायज्ञको माध्यमबाट सहभागी भक्तजनहरूको शान्ति, समृद्धि, सफलता र पुण्य लाभको लागि पनि हामीले महायज्ञ गर्न लागेका हौँ,’ उनले थपे । पाँचदिनसम्म चल्ने पुण्यकार्यमा सबैले सहयोग गरिदिन पनि आयोजकले अपिल गरेको छ ।